नेपाल संवतको नयाँ वर्ष र म्हः (आत्म) पूजा आज मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गरेका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत काठमाडौँमा अझै छ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः ९आत्म० पूजा समेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म ९म्हः० पूजा पर्व मनाउने गर्दछन्।

यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ। यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः ९आत्म० पूजा गरेका छन्। अर्काथरीले भने बुधबार गर्दैछन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ। रासस

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार