वाईसीएलको अध्यक्षमा श्रीपाइली चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को अध्यक्षमा सुवोध श्रीपाइली चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न वाइसीएलको राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । वाइसीएलको पदाधिकारीमात्रै ६१ जनाको बनेको छ भने केन्द्रीय समिति ३ सय ५१ सदस्यीय घोषणा भएको छ । पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ ।

शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएपछि सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् ।

यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए ।

यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीले देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाइएको हो ।

यस्तै वाईसीएलको महासचिवका लागि ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा गरेर ३ जनको दाबी रहे पनि छलफल पछि शाहीले बाजी मारेका हुन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार