
बर्दगोरिया। कैलालीकोबर्दगोरिया गाउँपालिकामा सुदूरपश्चिम प्रदेशव्यापी विद्यालय स्तरीय (यू–१६ छात्र) फुटबल प्रतियोगिता–२०८३ सञ्चालन हुने भएको छ। विद्यालयस्तरबाटै फुटबल खेलको विकास गर्दै नयाँ प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा यहि मंसिर ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका ३२ विद्यालयको सहभागिता रहनेछ।


प्रतियोगिताबारे जानकारी दिन बुधबार बौनियामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्नुका साथै प्रतियोगितामा प्रदान गरिने आकर्षक ट्रफीसमेत अनावरण गरेको छ।

आयोजककाअनुसार प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नेछ्न ।

प्रतियोगिताको विजेता विद्यालयले नगद १ लाख २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी उपविजेता विद्यालयले नगद ६१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।


व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर र उदयीमान खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गर्ने टोलीलाई फेयर प्ले अवार्डसहित ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको सम्पुर्ण प्रत्यक्ष प्रशारण गोल नेपालबाट हेर्न मिल्नेछ ।
प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य विद्यालयस्तरबाटै प्रतिभावान् फुटबल खेलाडी पहिचान तथा उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ। स्थानीय तथा प्रदेशस्तरमा खेलकुदको विकास गर्ने, बालबालिकामा खेलप्रतिको आकर्षण बढाउने र भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष मल्लले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न जिल्लाका खेलाडीबीच आपसी परिचय, मित्रता र खेलकुद संस्कृतिको विकासमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताले बर्दगोरियालाई प्रदेशस्तरीय खेलकुद गतिविधिको केन्द्रका रूपमा चिनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


















