बर्दगोरियामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न, शिक्षक महासंघ विजयी

बर्दगोरिया । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा कार्तिक १२ गतेबाट सुरु भएको पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ। आइतबार सम्पन्न फाइनल खेलमा सुनचाँदी व्यवसायी संघलाई २-१ गोल अन्तरले पराजित गर्दै शिक्षक महासंघ बर्दगोरिया विजयी बनेको हो।

 

शिक्षक महासंघका लागि टिम क्याप्टेन प्रकाश साउँदले पहिलो हाफमा गोल गर्दै अग्रता लिएका थिए। खेलको दोस्रो हाफमा पुनः शिक्षक महासंघका तर्फबाट राजेश चौधरीले १ गोल गर्दै २ गोलको अग्रता दिलाएका थिए। सुन चाँदी व्यवसायी संघले पाएको पेनाल्टीको सदुपयोग गर्दै राजेश सुनारले गोल गरेका थिए।

प्रतियोगिताको विजयी बनेको महासंघले आकर्षक खसी सँगै प्रमाणपत्र प्राप्त गरेको छ। उप-विजेता बनेको सुन चाँदी व्यवसायी संघले आकर्षक बोका सहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत गतवर्ष भएको प्रतियोगितामा मुढा बजार विजयी बनेको थियो भने बौनिया बजार उप-विजेता बनेको थियो। तर यस वर्ष दुवै टिमले फाइनल चरण प्रवेश गर्न सकेनन् ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर रहेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्ता प्रतियोगिताले आपसी मेलमिलाप सद्भाव र मित्रता कायम गर्दै सामाजिक एकतामा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनले खेलकुदका गतिविधिहरूमा आफू सधैँ सकारात्मक रहेको समेत बताए। कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष मिथुन गौतमले खेलमैदानको स्तर उन्नति, खेलाडी उत्पादन र खेलकुदको विकासमा आफूहरू लागिरहेको उल्लेख गरे।

यस वर्ष संघीय सरकारबाट खेलमैदानको स्तर वृद्धि गर्न बजेट आएको भन्दै उनले त्यसलाई सदुपयोग गरी अघि बढ्न आवश्यक रहेको बताए। खेल क्षेत्रको विकासका लागि हरेक वडामा खेलमैदान निर्माण र खेलकुदका गतिविधिहरू बढाउँदै खेलाडी उत्पादनमा गाउँपालिका लागि परेको समेत उनले बताए। कार्यक्रममा बोल्दै पत्रकार मञ्चका अध्यक्ष कृष्णप्रसाद ओझाले सामाजिक सद्भाव एकता र मित्रताका लागि मञ्चले हरेक वर्ष मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने बताएका छन्। आगामी वर्ष थप बृहत ढङ्गबाट प्रतियोगिता आयोजना गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार