
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन् । प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन हेर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सफल देखिएका छन्।

ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले आठ खेलमा २०२ रन बनाएका छन् । यस क्रममा तीन अर्धशतक प्रहार गरेका उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।
बलिङतर्फ उनले पाँच विकेट लिएका छन् । पहिलो संस्करणको एनपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ऐरीले कार पुरस्कार जितेका थिए । यस संस्करणमा पनि उनको प्रदर्शनले उक्त पुरस्कार जित्ने सम्भावना बलियो बनाएको छ ।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन पनि सन्तोषजनक छ । उनको नेतृत्वमा लुम्बिनी फाइनलमा पुगेको छ । रोहितले सात खेलमा १२१ रन बनाउनुका साथै चार विकेट लिएका छन् । उनले गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार पुरस्कार जितेका थिए ।

काठमाडौँ गोर्खाजका कप्तान करण केसीले पनि यस संस्करणमा राम्रो प्रदर्शन गरेका छन् । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनाएको छ । करणले सात खेलमा आठ विकेट लिनुका साथै ८९ रन बनाएका छन् ।
चितवन राइनोजका कप्तान जिम्बाम्वेका अलराउन्डर सिकन्दर रजाको व्यक्तिगत प्रदर्शन भने अपेक्षाअनुसार हुनसकेको छैन । उनको नेतृत्वमा चितवन प्लेअफमा पुगे पनि उनले पाँच खेलमा ५६ रनमात्र बनाएका छन् । बलिङतर्फ उनले पाँच विकेट लिएका छन् ।
कर्णाली याक्सले यस संस्करणमा सुरुआती खेलमा सोमपाल कामी र लिग चरणको अन्त्यतिर डेभिड मिलरलाई कप्तानको जिम्मेवारी दिएको थियो । सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाएका छन् । बलिङतर्फ उनले ८.९० को इकोनोमी रेटमा १० विकेट लिएका छन् ।

त्यस्तै, मिलरले कर्णालीका लागि चार खेलमा एक अर्धशतकको मद्दतमा ११० रन बनाएका छन् । यस संस्करणमा उनको उच्च स्कोर अविजितको ९३ रन हो । मिलरले पहिलोपटक एनपीएल खेलेका हुन् ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोलीको प्रदर्शन उतारचढावपूर्ण रह्यो । विराटनगर प्लेअफमा पुग्न सकेन । सन्दीपले सात खेलमा सात विकेटमात्र लिए । पाँच खेलमा उनी विकेटविहीन रहे । ब्याटिङतर्फ पनि उनको प्रदर्शन उल्लेखनीय हुन सकेन ।
पोखरा एभेन्जर्सले सुरुआती खेलमा कुशल भुर्तेललाई कप्तान बनाएको थियो । टोलीको लगातार खराब प्रदर्शनपछि लिग चरणको अन्त्यतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।

कुशलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाएका छन् । बलिङतर्फ उनले छ विकेट लिएका छन् । त्यस्तै, करुणारत्नेले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिएका छन् ।
जनकपुर बोल्ट्सले यस संस्करणमा अमेरिकाका अलराउन्डर हरमित सिंहलाई कप्तान बनाएको थियो । उनको नेतृत्वमा जनकपुर अङ्कतालिकाको पुछारमा रह्यो । यद्यपि, व्यक्तिगत रूपमा हरमितले बलिङमा राम्रो प्रदर्शन गरे । उनले सात खेलमा ११ विकेट लिनुका साथै ९० रन बनाएका छन् ।
रासस



















