नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उचाल्यो उपाधि

काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि जितेको छ ।
मंगलबार आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि हात पारेको हो ।

जितका लागि चाहिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन, सायब्रान्ड इन्गलब्रेचले ४८ रन, विक्रमजित सिंहले २९ रन तथा म्याक्स ओ’दाउदले २२ रन बनाए ।

नेपालका लागि कुशल मल्लले ४ तथा अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

नेपालका लागि गुल्सन झाले ३४ रन बनाए । आशिफ शखेले ४७ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २५ तथा कुशल भुर्तेलले २० रन जोडे । कुशल मल्ल ११ बलमा ३ छक्का हिर्काउँदै २६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट, टिम भान डेर, सायब्रान्ड इन्गेलब्रेच र फ्रेड क्लासेनले २-२ विकेट हात पारे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार