प्रदेश व्यापी यू-१६ फुटबल प्रतियोगीता सम्पन्न: कल्पवृक्ष स्कुल भजनी उचाल्यो उपाधि

 बर्दगोरिया । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा कैलालीको बर्दगोरियामा मंसिर ४ गतेदेखि सञ्चालन भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्र यू–१६ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। आइतबार सम्पन्न फाइनल खेलमा खड्ग मेमोरियल स्कुल टीकापुरलाई ३–० गोल अन्तरले पराजित गर्दै कल्पवृक्ष स्कुल भजनीले उपाधि जितेको छ।

उपाधिसँगै विजेता कल्पवृक्षले नगद १ लाख २१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता खड्ग मेमोरियल स्कुलले नगद ६१ हजार रुपैयाँसहित ट्रफी हात पारेको छ। प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी कल्पवृक्ष स्कुलका निलशन चौधरी घोषित भए। उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधि कलम बम मेमोरियल पहलमानपुरका कृष्णप्रसाद गौतमले प्राप्त गरे। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी हात पारे। उत्कृष्ट डिफेन्डर खड्ग मेमोरियलका पर्थ कुँवर, उत्कृष्ट मिडफिल्डर बालबाटिकाका मिलन साउद र उत्कृष्ट गोलकिपर महुन्याल माध्यमिक विद्यालय बासकोटीका विवेक जाब्ली घोषित भए। उनीहरू प्रत्येकले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

यसैगरी, उदयीमान खेलाडीको अवार्ड खड्ग मेमोरियलका प्रज्वल स्वारले प्राप्त गरे। उनले नगद १० हजार रुपैयाँ पाए। फेयर प्ले टिमको अवार्ड राष्ट्रिय माध्यमिक विद्यालय सोल्टाले जितेको छ। विद्यालयले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।

त्यस्तै, उत्कृष्ट प्रशिक्षकको अवार्ड खड्ग मेमोरियल टीकापुरका हेमन्त क्षेत्रीले प्राप्त गरे। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी हात पारे। प्रतियोगितामा कैलाली र कञ्चनपुरका ३२ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार