श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ ।

सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्।

सरस्वती पुजाकै अबसरमा चित्रकला प्रदशनी गरिनुका साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा विद्यालयले गाएन प्रतियोगिता समेत गरेको प्रधानाध्यापक सुशिला कुवरले बताउनुभयो ।

कार्यक्रममा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट, कार्यपालिका सदस्य एवम वडा नम्बर १ कि वडा सदस्य सरस्वती विक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज खतिवडा,  लगाएतको उपस्थिति रहेको थियो।

विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन रहेको छ । सरस्वती पुजा अथवा बसन्त पञ्चमीका दिनबाट अक्षराम्भ गराएमा बालबालिका पढाईमा अब्बल बन्ने विश्वास गरिन्छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अधाङिगनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्त्व छ ।

गान्धर्व पुराणमा यस दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दातले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार