सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले शनिबार बौनिया बजारमा छापा मारेको छ । खुलेयाम रुपमा बोतल र जर्कीनमा पेट्रोलियम पदार्थमा को बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा बौनिया बजारमा छापा मारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 

छापा मार्ने क्रममा उक्त पसलहरुको खानतलासी गर्दा १ सया ६६.५ लिटर पेट्रोल जर्कीन तथा बोलता भरेर राखेको अवस्थामा बरामद भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । बरामद गरिएका उक्त पेट्रोल ईलाका प्रहरी कार्यालय बौनियाले आफ्नो नियन्त्रणमा राखेको छ ।

सोही क्रममा प्रहरीले स्थानीय व्यावसायीलाई बोलाएर ईलाका प्रहरी कार्यालय बौनियामा छलफलसमेत गरेको छ । छलफलका क्रममा व्यापारीलाई खुला रूपले पेट्रोल बिक्रीवितरण आफ्नो बाध्यता रहेको बताएका छन । उनीहरुको भने- “आफुहरुलाई पेट्रोल बेच्न कुनै रहर छैन तर पनि के गर्ने बौनिया बजारमा संचालित पेट्रोल पम्पले पेट्रोल ल्याउदैन , चुहामा रहेको पेट्रोल पम्पले खुलेयाम रुपमा जर्किनमा सयौं लिटर पेट्रोल पम्पा आउन साथ बिक्रि गर्छ । सुरुसुरुमा आफुहरुले आफ्नो प्रयोगको लागि पेट्रोल ल्याउने गर्थेऔ तर पछि बिस्तारै स्थानीय हरुको माग भएका कारण आफुहरुले पेट्रोल बेच्ने गरेको बताए।”

सोही कुराको आधारमा इलाका प्रहरी कार्यालय बौनियाले बौनिया बजारमा संचालित पेट्रोल पम्पको कर्मचारीलाई बोलाउदै पेट्रोल पम्पमा किन पेट्रोल नल्याएको ? भन्दा, बौनियामा संचालित रोयल पेट्रोलियम प्रालिका कर्मचारी धनबहादुर मल्लले सँग आर्थिक अभाव भएका कारण पेट्रोल ल्याउन नसकेको बताए ।

अन्ततः ईलाका प्रहरी बौनियामा भएको छलफलले व्यापारीहरुलाइ सम्झाइ बुझाई पठाएको प्रहरीले जनाएको छ ।

अबैध कारोबार भए कारबाही गर्छौं : सीडीयो कटेल

यता कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कानुनको उलंघन गरि अवैध कारोबार गर्ने व्यापारीमाथि कारबाही गरिने बताए । राज्य तथा सरकारी निकायको ऐनकानुनको पालना गर्नु सबै नागरिकको दायित्व भएको बताउँदै उनले अटेरी गर्नेमाथि कारोबारको प्रकृतिअनुसार सजाय हुने बताए ।

हामीले पहिलोपटक सर्वसाधारण नागरिकलाई सूचना दिएका हुन्छौं । उहाँहरुलाई सचेत र सतर्कता अपनाउन आग्रह गर्छौं । सूचनाको पालना गर्नु सबैको दायित्व तथा कर्तव्य पनि हो तर, यसलाई उलंघन गर्ने गरि मनोमानी कारोबार गरेको आधार प्रमाण पुष्ठि हुन आएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ । हामीले स्थलगत रूपमा अनुसन्धान अधिकृतलाई अनुसन्धान गर्न खटाउँछौ । उहाँहरुले गरेको स्थलगत अध्ययन, अनुसन्धान, यस्तो कारोबारमा संलग्नको बयान, बकपत्र र प्रमाणका आधारमा उहाँलाई सचेत गराउने, दण्ड, सजाय गर्ने र गम्भीर प्रकारको त्रुटि देखिए प्रचलित ऐनकानुन नै आकर्षित हुने अवस्था रहन्छ उनले बताए ।

आधिकारिक डिलरमा नै पेट्रोलको हाहाकार :

कैलालीका विभिन्न पेट्रोल पम्पमा पछिल्लो समययता पटकपटक पेट्रोलको अभाव देखिन थालेको छ । इन्धनको माग तथा खपतअनुसार पर्याप्त मात्रामा ढुवानी नहुँदा बिक्रीवितरणका लागि खोलिएका आधिकारिक डिलरहरुले महिनौंदिनसम्म पेट्रोल पम्पमा पेट्रोल पाइदैन । यी पेट्रोल पम्पमा नियमित पेट्रोल आपूर्ति नगर्दा हाहाकार देखिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बौनिया, चुहा, लम्की, बलिया लगाएका आधिकारिक पेट्रोल डिलरमा महिनौंदिनसम्म पेट्रोल पम्प बन्द छन् ।

तर, उनीहरुको खुला रूपमा जर्किन र बोतल डिजेल र पेट्रोल बिक्रीवितरण गर्दा सर्वसाधारण नागरिक समस्यामा छन् भने अवैध कालोबजार बढ्दै जाँदा प्रशासन समेत मुखदर्शक बनेको छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि अवैध रूपमा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको खुला बिक्रीवितरण नगर्न अनुरोध गरेको थियो । खुला रूपले पेट्रोलको बिक्रीवितरण, असुरक्षित ओसारपसार, घर तथा पसलमा भण्डार गर्दा आगलागी हुने र मानवीय तथा भौतिक क्षतिका अप्रत्याशित घटनाहरु बढ्दै जाने भन्दै सुरक्षा सतर्कता अपनाउन अवैध पेट्रोलियम पदार्थको बिक्रीवितरण रोक लगाएको थियो ।

तरपनि, नियन्त्रण हुन नसकेपछि शनिबार छड्के बजार अनुगमन गरेको थियो ।

यता, बौनिया बजारमा पेट्रोल बिक्रीवितरण गर्दै आएको रोयल पेट्रोलियम प्रालिका धनबहादुर मल्लले रुपैयाँको अभावले बजार मागअनुसार नियमित पेट्रोल खरिदबिक्रीमा समस्या भइरहेकोे बताए । उनले विगत ४-५ महिनायता इन्धनको सहज आपूर्ति गर्न नसकिएको स्वीकार गरे ।

यस्तै, लम्कीचुहा नगरपालिकाको पिपरौवास्थित जय बागेश्वरी आयल स्टोर पेट्रोल पम्पमा पनि नियमित पेट्रोलियम पदार्थको आपूर्ति हुन सकेको छैन । यसबारे शुक्रबार स्थलगत रिपोर्ट प्रशारण गरिएको थियो ।

केही दिनदेखि जिल्लाका मुख्य बजार तथा ग्रामीण क्षेत्रका विभिन्न पसलमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायीहरुले पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर एक सय ८० देखि २ सय २० रुपैयाँ सम्म प्रति बोतल बिक्रीवितरण गरिरहेको छन।

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

पछिल्लो समयमा कैलालीका पेट्रोल पम्पमा पेट्रोल पाइदैन तर, स्थानीय बजारमा भने छ्याप-छ्याप्ती पाइन्छ। बढी मूल्य लिएर अवैध रुपमा पेट्रोल बिक्री हुँदै आएको छ। पेट्रोल पम्प बाहेक पसलहरुमा ड्रम तथा बोतलमा राखेर पेट्रोल बिक्री हुँदै आएको हो ।
तराईका विभिन्न स्थानबाट ड्रममा डिजेल तथा पेट्रोल ल्याएर खुला रुपमा बढी मूल्यमा बिक्री हुँदै आएको स्थानीयको जनगुनासो छ । पेट्रोलियम पदार्थको खुला रुपमा बिक्रीवितरण भइरहेको भए पनि नियमन गर्ने निकायले ध्यान नदिएको गुनासो आम सबढ्दै गएको छ। जिल्लामा नियम विपरीत व्यापारीले अवैध रुपमा डिजेल र पेट्रोलको कारोबार गर्दै आइरहेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार