प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । सत्ता साझेदार दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।

समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार पुगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री नदिएको भन्दै एमाले असन्तुष्ट छ। उसले रास्वपाको भागमा परेको गृह मन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएको छ।

प्रधानमन्त्री प्रचण्ड भने गृह तत्काल रास्वपालाई नदिने अडान लिइरहेका छन्। रास्वपाले आज सम्मको अल्टिमेटम दिएको छ।

प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने उनी निकट स्रोतले सेतोपाटीलाई बतायो।

‘प्रधानमन्त्रीले अहिले कसैलाई गृहमन्त्री बनाउनु हुन्न। पहिलो कुरा सर्वोच्च अदालतको पूर्णपाठ आउनुपर्छ। दोस्रो राहदानीबारे पनि टुंगिनुपर्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘रवि लामिछानेजी गृहमन्त्री बन्ने भएकाले एउटा परिस्थितिमा उहाँलाई बनाइएको हो। तर अब जुनसुकै नेतालाई गृह मन्त्रालय दिने भन्ने हुँदैन।’

प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेलले गृह मन्त्रालयबारे बाहिर आएजस्तै धारणा प्रधानमन्त्रीको रहेको बताए।

बिहीबार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिएको थियो।

त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन उसले माग गरेको थियो। गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने उसको निर्णय छ।

रास्वपाले निर्णय गरेको भोलिपल्ट संयन्त्रको बैठक बस्न सकेन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार