प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्। आजको बैठकमा २७० सांसद उपस्थित थिए।  केसी र सुवालले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताएका थिए।

नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीले आज बिहान मात्रै उनलाई विश्वासको मत दिने निर्णय गरेका थिए।

संसदमा प्रतिनिधित्व गर्ने १० पार्टीले समर्थन गरेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रचण्ड बहुमत पाएका हुन्।

संसदमा विश्वासको मत लिइसकेपछि अब दुई वर्षसम्म प्रधानमन्त्री प्रचण्डविरूद्ध अविश्वासको मत ल्याउन पाइँदैन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार