माओबादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त

३, असोज २०७९ काठमाडौं । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।

अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गर्दै नेपालीको संविधान २०७२ जारी भएको ७ वर्ष पुरा भएको अवसरमा आम देशवासी हरुमा शुभकामना व्यक्त गरेका हुन ।

यस्तो छ अध्यक्ष दहालद्वारा जारी  शुभकामना

संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।

लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ ।

सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जान्छ । यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको छ ।

वर्तमान संविधानकै कार्यान्वयनको क्रममा हामी आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा / प्रदेश सभा सदस्य निर्वाचनको प्रक्रियामा छौं । संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ । त्यसका लागि प्रतिगमन विरोधी अग्रगामी सम्पूर्ण नेपाली जनसमुदायलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि हार्दिक अपील गर्दै पुनः एकपटक संविधान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

०३ असोज, २०७९
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष                           

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार