आज हरितालिका तीज पर्व, देशभर हर्षल्लासका साथ मनाइँदै, महिला कर्मचारीलाई बिदा

१४, भाद्र २०७९, काठमाडौं । आज हरितालिका तीज पर्व । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर हर्षल्लासका साथ मनाइँदैछ ।

हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला यो पर्व मनाउन रोक लगाईएको थियो । तर यस वर्ष भने कोरोनाको जोखिम केहि न्यून रहेकोले देशभर हर्षल्लासका साथ मनाइँदैछ ।

दुई वर्षपछि आज तिजको अवसरमा देशभरका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको बाक्लो भिड लागेको छ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्।
तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन्।

तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार