(माओवादी केन्द्र) र एकीकृत समाजवादी एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणापत्र बनाउने भएका छन्

पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका हुन ।                                                    सोमबार आज विहान नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भएको छलफलमा दुई पार्टीले एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका हुन् ।

मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने बताइएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति जुटेको प्रतिक्रिया दिए । माओवादी र नेकपा समाजवादी एउटै घोषणापत्र बनाएर निर्वाचनमा जाने सहमति भएको हो ? भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हो ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि पार्टी एकता नहुने तर अरु विषय मिलाउँदै जान सहमत भएको प्रतिक्रिया दिए ।

‘चुनावअघि पार्टी एकता त हुँदैन तर अरु बाँकी कामहरु हुँदै जानेछन् ’, अध्यक्ष नेपालले पार्टी एकता संयोजन समिति समेत चाँडै बन्ने संकेत गरे । ‘बाँकी काम र एकताको थालनी तत्काल हुन्छ । त्यसमा एकता संयोजन समिति त बन्ने नै भयो । त्यो हाम्रो पार्टीले निर्णय नै गरेको विषय भयो । केही दिनमा दुवै दलका तर्फबाट सदस्यहरु तोकिन्छन् ।’

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार