कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा निःशुल्क आँखा शिविर बिहीबार सम्पन्न भएको छ।

वडा नं. १ को आर्थिक सहयोग तथा श्री कृष्ण आँखा अस्पताल, टीकापुरको प्राविधिक सहयोगमा आयोजित निःशुल्क बृहत् आँखा शिविर बिहीबार सफलतापूर्वक सम्पन्न भएको हो।
बिहीबार सम्पन्न उक्त शिविरमा ७०३ जना सेवाग्राहीको आँखा परीक्षण (OPD) गरिएको थियो। परीक्षणका क्रममा ८० जना बिरामीमा मोतिबिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका लगायत बिरामीहरूको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको छ। ती सबै बिरामीको आज शुक्रवार श्री कृष्ण आँखा अस्पताल, टीकापुरमा निःशुल्क शल्यक्रिया (सर्जरी) गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

त्यसैगरी, शिविरमा दृष्टि समस्याबाट प्रभावित १९२ जना सेवाग्राहीलाई निःशुल्क चस्मा वितरण गरिएको थियो। शिविरमार्फत निःशुल्क नाम दर्ता, आँखा परीक्षण, औषधि वितरण तथा आवश्यक परामर्श सेवा समेत प्रदान गरिएको थियो।
ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरबाट सयौं स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आयोजकले यस्ता स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमले समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।














