काठमाडौं । कोशीदेखि लुम्बिनीसम्म भएको वर्षाले गर्मीमा राहत दिए पनि लुम्बिनीदेखि पश्चिमका तराई भूभागमा भने अझै उस्तै गर्मी कायम छ । भोलि भने पश्चिम नेपालका तराईका भूभागमा पनि पानी पर्ने र गर्मीमा राहत मिल्ने मौसमविदहरुको प्रक्षेपण छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सबै प्रदेशका तराई र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । हिमाली भेगमा भने हिउँ वा पानी पर्ने सम्भावना छ ।

मौसमविद बिनु महर्जनले भनिन्, ‘बुधबारदेखि विहीबारभित्र कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आज भने तातो दिन कायम रहने सम्भावना छ । तर भोलि मंगलबारदेखिको वर्षाले शीतल महसुस गराउने छ ।
देशका मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा आइतबार पानी परेको छ, जसका कारण गर्मी केही कम भएको छ । डढेलो र प्रदूषण पनि घटेको छ । तर हावाहुरी र असिनाले भने कतै कतै क्षति पुर्याएका विवरणहरु आएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले यो हप्ताभरी बदली र वर्षा हुनेछ ।
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा
विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा भएको छ ।
सबैभन्दा धेरै मुसिकोटमा ७८.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी आँपचौरमा ४८।४ र बडिगाड रुद्रवेणीमा ३५ र भार्सेमा १८ मिलमिटर वर्षा मापन भएको छ । त्यसैले सो क्षेत्र भएर बग्ने साना नदी तथा खोलाहरुमा बाढी आएको थियो ।
यसैगरी प्युठानको सेउलीबाङमा ४५.६ मिलिमिटर र झापाको केचनामा ४० मिलिमिटर वर्षा मापन भएको छ ।
काठमाडौं उपत्यकामा पनि हिजो पानी परेको थियो । काठमाडौंमा सबैभन्दा धेरै नैकापमा २६.२ मिलिमिटर वर्षा भएको थियो ।
















