काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ।
मंगलबार अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकमा माओवादीले गृह र अर्थ र मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो।
‘हामीले अर्थ र गृहमा दाबी गरेका छौं,’ माओवादीका एक नेताले भने। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्।
यता गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गरिरहेको छ। सभापति रवि लामिछाने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्।
तर एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ।
सोमबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा र जसपासहितको नयाँ समीकरण बनाएका थिए।
उक्त गठबन्धनबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न नै शपथ लिइसकेका छन्। तर मन्त्रालयमा भागबन्डा नमिल्दा बिनाविभागीय मन्त्री बनाइएको थियो भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छन ।