बर्दगोरिया गा.पाको नवनिर्मित प्रशासनिक भवनको साँचो हस्तान्तरण

बर्दगोरिया/ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ ।

श्यामसुन्दर निर्माण कम्पनीका प्राविधिक बिप्लप मिश्रले गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।

२०७६ साल साउन ५ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले २०७९ मंसिर २९ गते सम्पन्न गर्नु पर्ने थियो । ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न गर्न नसक्दा पटक पटक म्याद थप गर्दै आएको थियो ।

आगामी दशै देखी नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष कुँवरले बताए । ६ करोड ३३ लाख ५४ हजार ६ सय ४३ रुपैयाँमा सम्झौता भएको लिफ्ट सहितको भवनमा ४० भन्दा बढी कोठा रहेका छन ।

निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौता मितिमा काम सम्पन्न हुन नसक्दा गाउँपालिका अहिले भाडामा बस्दै आएको छ ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचन पश्चात् २०७६ सालमा आफ्नै भवन निर्माण गर्ने भनी पालिकाले ठेक्का आव्हान गरेको थियो ।

आफू निर्बाचित भए देखि निरन्तर प्रशासनिक भवनको बारेमा चासो राखेका कारण अहिले आएर सम्पन्न हुदा खुशी लागेको बताउदै अब आउने असोज /कात्तिक बाट आफ्नै प्रशासनिक भवनबाट सेवा सुबिधा दिने पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताए ।

भवन हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरि, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,वडा अध्यक्षहरु,कार्यपालिका सदस्य सहित प्राविधिकहरुको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार