बर्दगोरियामा १० दिने अचार बनाउने तालिम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित १० दिने अचार बनाउने तालिम शनिबार सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडाप) अन्तर्गत फागुन ३ गतेदेखि वडा नम्बर १ मा तालिम संचालन भएको थियोे ।

तालिममा वडा नम्बर १ मा रहेका विभिन्न आमा समुहमा आवद्ध १५ जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रशिक्षक ज्ञानेन्द्र शर्माले मासु, गुन्द्रुक, कागती ,लसुन, अदुवा, खुर्सानी, कागती लगायतका विभिन्न प्रकारका अचारहरू बनाउन प्रशिक्षण दिएका थिए ।

तालिम समापन समारोहमा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले तालिममा सिकेको सिपलाई व्यवसायिक अचार उत्पादनमा प्रयोग गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्न आग्रह गरेका थिए । उनले तालिममा सिकेका सिपलाई व्यबहारमा लागु गरि उधमी बन्न सके आर्थिक हिसाबले कम्जोर हुनुपर्ने र बेरोजगारीको समस्या समाधानमा ठूलो योगदान पुर्याउने बताए ।

वडा अध्यक्ष गौतमले काम सानो र ठुलो नहुने भन्दै आफुमा भएको सीप, क्षमता र ज्ञानलाई सहि तरिकाले प्रयोगमा ल्याउन सके अरुप्रतिको परनिर्भरता अन्त्य भएर जाने बताए । उनले महिलाहरुलाई समाजमा आर्थिक ,सामाजिक हिसाबले अब्बाल बनाउन आफू सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा तालिमका प्रशिक्षक शर्माले व्यवसायिक उत्पादन पश्चात् बजारीकरणमा कुनै समस्या नहुने हुँदा सिकेका कुरालाई उत्पादनमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा तालिमका फोकल पर्सन झपी राज ओझाले तालिममा सिकेका सीपलाई व्यबहारमा लागु गरे अचारमा पालिकालाई आत्मनिर्भर बनाउन सहयोग र अर्थोपार्जनमा समेत आत्मनिर्भर हुन मद्दत पुर्याउने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार