आज तिहारको मुख्य दिन भाइटिका: टिकाको शुभ साइत ११:३७

काठमाडौं । आज नेपालीहरुको दोस्रो ठुलो चाडको मुख्य दिन तिहार अर्थात भाई टिका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया आजकै दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै मनाइन्छ ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उनले सुनाए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार