भाइ टिकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं । यस वर्षको भाइटिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको हो।

जसअनु्सार भाइ टिकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११: ३७ बजे रहेको छ।

यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ। कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ। यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ।

कात्तिक ६ गते आइतबार कागतिहार काकबली पर्व परेको छ। धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ। कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ। त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ।

 यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको छ । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ। कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ। यस दिन सूर्यग्रहण पनि परेको छ।

कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा म्हपूजा का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ। कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ।

 कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन्। नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ।

यस दिन साइत खोज्नेले बिहान ११ :३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार