बर्दगोरिय । बर्दगोरिया गाउँपालिका वडा नं. ६ अन्तर्गत सुगरखाल क्षेत्रमा रहेको काडा नदीको कटान नियन्त्रण गर्न तटबन्धन निर्माण कार्यको बुधवार वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले शिलान्यास गर्नु भएको छ । वर्षेनी हुने नदी कटानका कारण स्थानीय बस्ती तथा कृषियोग्य जमिन जोखिममा पर्दै आएको सन्दर्भमा यो आयोजना सुरु गरिएको हो ।

उक्त तटबन्धन निर्माण कार्य राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ लम्की, कैलालीको सहयोगमा सञ्चालन हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शिलान्यास पश्चात्त बोल्दै वडा अध्यक्ष डगौरा थारुले तटबन्धन निर्माण सम्पन्न भएपछि नदी कटान नियन्त्रण भई बस्ती तथा खेतीयोग्य जमिन सुरक्षित हुने विश्वास व्यक्त गर्नु भयो । यस आयोजनाले प्राकृतिक विपद् न्यूनीकरण तथा स्थानीय विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले परियोजना सञ्चालनका लागि सहयोग गर्ने राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति तथा कार्यक्रम कार्यान्वयन इकाइ लम्की, कैलालीप्रति आभार व्यक्त गरेका छन्।














