काठमाडौं । इरानलाई अमेरिकाले पाँचबुँदे सर्तसहित जवाफ पठाएको छ । फेब्रुअरी २८ देखि सुरु युद्ध अन्त्य गर्ने उद्देश्यले इरानले अमेरिकासमक्ष शान्ति प्रस्ताव पठाएको थियो । अमेरिकाले इरानसमक्ष पाँच प्रमुख सर्त राखेको फार्स समाचार एजेन्सीले जनाएको छ ।

ती सर्तमा इरानले एउटा मात्र परमाणु केन्द्र सञ्चालन गर्न पाउने, अत्यधिक सम्वद्र्धित युरेनियमको मौज्दात अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने, विदेशमा रोक्का राखिएको इरानी सम्पत्तिको २५ प्रतिशत पनि फुकुवा नगरिने, युद्धका क्रममा इरानमा भएको क्षतिको कुनै क्षतिपूर्ति नदिइने र वार्ताको सुरुआतमै सबै मोर्चामा पूर्ण युद्धविराम लागु हुनुपर्ने उल्लेख रहेको जनाइएको छ ।
इरानको अर्को समाचार एजेन्सी मेहरले भनेको छ, “अमेरिकाले कुनै ठोस छुट नदिई युद्धका क्रममा हासिल गर्न नसकेका सुविधा वार्तामार्फत प्राप्त गर्न खोजिरहेको छ । यसले वार्तालाई गतिरोधतर्फ धकेल्नेछ ।”
इरानले आफ्नो प्रस्तावमा लेबनानमा जारी इजरायली सैन्य अभियानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्न र अप्रिल १३ देखि इरानी बन्दरगाहमा लागु अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन माग गरेको थियो ।
गएको साता आयोजित पत्रकार सम्मेलनमार्फत इरानको परराष्ट्र मन्त्रालयले सबै अमेरिकी प्रतिबन्ध हटाउन र लामो समयदेखि विदेशमा रोक्का राखिएको आफ्ना सम्पत्ति फुकुवा गर्न माग गरेको थियो ।

फार्सका अनुसार, इरानले आफ्नो प्रस्तावमा होर्मुज जलमार्गमाथिको नियन्त्रण कायम राख्ने अडान पनि दोहोर्याएको छ ।
विश्वव्यापी ऊर्जा आपूर्तिको अत्यन्त महत्त्वपूर्ण मार्ग मानिने होर्मुज जलमार्ग युद्ध सुरु भएदेखि अधिकांश समय बन्दजस्तै अवस्थामा छ ।
कांश समय बन्दजस्तै अवस्थामा छ । विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही मार्ग हुँदै ओसारपसार हुने गर्छ ।
यसैबीच, इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेकार्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि पुनः आक्रमण नगर्न चेतावनी दिएका छन् ।
इरानी संसद्का उपसभामुख हमिदरेजा हाजिबाबाईले पनि इरानी तेल पूर्वाधारलाई निसाना बनाउने कुनै पनि कदमविरुद्ध चेतावनी दिएका छन् ।














