काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका ७ जना सांसदहरू बैठक छोडेर हिँडेका हुन् ।

सो पार्टीले हिजो पनि बैठक बहिष्कार गरेको थियो । तर आज नीति तथा कार्यक्रममाथिको छलफलमा साम्पाङसहित अन्य सांसदहरूले भाग लिएका थिए । साम्पाङले रोष्टममा उभिएर सारगर्भित मन्तव्य पनि दिएका थिए ।
तर, प्रधानमन्त्री जवाफ दिन नआउने पक्का भएपछि साम्पाङ बैठकबाट बाहिरिएका हुन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीलाई नीति तथा कार्यक्रमको बचाउ गर्न समय दिएपछि सबै विपक्षी सांसदहरू आफ्नो आसनबाट उठे । त्यतिबेला साम्पाङ सहित श्रम संस्कृतिका सांसदहरू बैठक छोडेर हिँडिसकेका थिए ।

साम्पाङको झोला भने बैठक कक्षमा नै छ । उनी बस्ने टेबलमा कालो झोला अलपत्र अवस्थामा रहेको लाइभमै देखिएको छ ।सम्भवतः फेरि फर्किने सुरले झोला नबोकी हिँडेको तर प्रधानमन्त्री नआउने भएपछि नफर्किएको हुन सक्छ ।
पार्टीका सांसद ध्रुवराज राईले आफूहरूले पूर्वनिर्णयअनुसार संसद बहिष्कार गरेको बताए । साम्पाङले पनि सामाजिक सञ्जालमा बैठक बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस लेखिसकेका छन् ।














