काठमाडौँमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्स जहाजको चक्कामा लाग्यो आगो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्स जहाजको चक्कामा आगो लागेको छ ।

 

सोमबार बिहान इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्स जहाजको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिलवालले भने ।

 

अहिले रनवे बन्द गरेर विमानलाई ट्याक्सी(वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । यसपछि विमानको प्राविधिक जाँच गरिने पनि सिलवालले जानकारी दिए ।

विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालको भनाई छ ।

यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएको थियो । जसमा कुनै मानविय क्षति नभए पनि त्रिभुवन विमानस्थल ४ दिनसम्म बन्द हुन पुगेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार