
कैलाली । जिल्लाको कैलारी गाउँपालिका ९ बस्ने बसराम चौधरीले जिवनसाथी गुमाएको पिडा पोख्ने र मन बुझाउने बाटो खोजि रहेका बेला आज सान्तवना र सहानुभुतीको मलम लगाउनेगरी उनकी धर्मपत्नी गीता देवी चौधरीको शोकसभा मनाइएको छ ।
बहुउद्देश्यीय सहकारी संस्थाको चौमाला ईलाका प्रमुख खकेन्द्र देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कैलारी गाउँपालिका ९ नम्बर वडा अध्यक्ष खेम चौधरी रहेका थिए । शोकसभालाई संस्थाका मसुरिया शाखा प्रमुख सुनिल चौधरीले सहजीकरण गर्नुका साथै संस्थाको बारेमा जानकारी गराएका थिए ।

बसरामको मृतक पत्नी किसान बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य थिईन । संस्थाबाट ऋण लिएर घरेलु उद्यम गर्दै दुख जेलो गरेरै भएपनि सुखका साथ परिवार चलेको थियो । दैवको लिला कसले देखेको हुन्छ र । एक दिन नसोचेकै भयो निष्ठुरी कालले उनको अर्धाङ्गीनी गिता देवीलाई चटक्क चुडेर लग्यो ।

पिडामा रन्थनिएका बेला आँशु पुछ्न किसान बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारी बसरामको घरमै पुगेर शोक सभाका बिचमा सहकारी संस्थाले उनकी धर्मपत्नीको फोटो सहित सान्तवना रकम वाफत रु. २ लाख ३५ हजार हस्तान्तरण गर्यो ।

बसरामलाई यो रकम आफ्नी श्रीमतीले मायाको चिनो स्वरुप छोडेर गएको आभास भयो । त्यो शोकसभामा बसरामले मृतक श्रीमतीको फोटो र सान्तवना रकम मात्रै बुझेनन् पिडामा मलहम लगाउन निस्वार्थ रुपमा अघि बढ्ने संस्थाको नीति, संस्थाले बोध गरेको सदस्यप्रतिको अपनत्व र संस्था सदस्य प्रति कति जिम्मेवार रहछ भन्ने पनि राम्रोसँग बुझन पाए ।
संस्थाले सदस्यहरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्देश्यले सदस्य सुरक्षण कोष खडा गरेको छ । उक्त कोषमा प्रत्येक वर्ष संस्थाले, सदस्यले र कर्मचारीहरुले स–सानो रकम योगदान गर्छन् ।
कुनै सदस्यलाई प्राकृतिक विपत्ति पर्दा अथवा मानविय क्षती हुँदा संस्थाले उक्त कोषबाट निशुल्क सहायता प्रदान गर्दै आएको छ ।
हाल आएर कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था आफ्ना सदस्यहरुको दुखको समयमा दरिलो साथ दिने संस्थाको रुपमा रिचित छ ।