काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि असोज ८ मङ्गलवार देखी १२ गते शनिवार सम्म देशव्यापी रूपमा मौसम बदली र वर्षाको सम्भावना देखिएको जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र भोलि असोज ८ गते दिउँसोदेखि बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण ५ दिनसम्म देशभर मौसम बदली रही भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार राति विशेष बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ– असोज ८ गते मङ्गलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार असोज ९ गते बुधवार पनि देशभरको मौसम आंशिकदेखि साधरणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले अगाडि भनेको छ– सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाएको छ।
यसै गरी असोज १० गते बिहीबारदेखि असोज १२ गते शनिवार सम्म देशभर मौसम साधारणत देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
अनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। साथै कोसी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
सो वर्षाले विशेषतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अघि मौसमबारे जानकारी लिन महाशाखाको दैनिक मौसम बुलेटिन हेर्न अनुरोध गरिएको छ।
सचेत गराउँदै महाशाखाले अगाडि भनेको छ– तसर्थ वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।