त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

कैलाली ।  यही माघ २३ गते मंगलबार त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह व्यवस्थापन सङ्काय चौथो सत्रान्तको परीक्षा केन्द्र सार्वजनिक गर्यो । दुई दिन नबित्दै सो केन्द्र सच्चाइएको अर्को सूचना जारी गर्यो । सच्याइएको केन्द्रमा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही नगरपालिकाको सुखडमा रहेको राष्ट्रिय कलेज सारियो । ५ सय मिटरको समेत दूरी छैन यी दुई क्याम्पस बिच । तर त्रिविलाई के त्यस्तो आपत आइपर्यो र आफै गरेको निर्णय दुई दिन नबित्दै उल्टाउनु पर्यो ।

 

दुई क्याम्पस बिच खिचातानी

“आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रिय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठमाडौंमा गरौला ।” याे कैलालीकाे घाेडाघाेडी नगरपालिका १ सुखडमा रहेकाे राष्ट्रिय कलेजका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले सामाजिक सञ्जाल फेसबुकमा राखेकाे ‘स्टाटस’ हाे ।

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले यही माघ १३ गते शनिबार ‘विकासका क्षेत्रहरूको पहिचान: स्थानीय निकायको नीतिनिर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाहरूको क्षमता अभिवृद्धि सम्बन्धी गोष्ठी’ सम्पन्न गरेकाे थियाे । जसमा राष्ट्रिय याेजना आयाेगका अध्यक्ष डा. राम कुमार फुँयाल, सुदूरपश्चिम प्रदेश निती तथा याेजना आयाेगका सदस्य दिपिका भट्ट, घाेडाघाेडी नगरपालिकाका नगर प्रमुख सहित अन्य जनप्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे । यसका साथै उक्त कार्यक्रममा जाेशीपुर गाँउपालिका, बर्दगाेरीया गाँउपालिका र भजनी नगरपालिकाका जनप्रतिनिधि सहित घोडाघोडी बहुमुखी क्याम्पस प्राध्यापक तथा कर्मचारीकाे  समेत उपस्थिति रहेकाे थियाे  ।

घोडाघोडी बहुमुखी क्याम्पसले गरेकाे यस कार्यक्रमलाई लक्षित थियाे राष्ट्रिय कलेजका व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालकाे ‘स्टाटस’ । स्थानीय राजनीतिक दलका प्रतिनिधिलाई कार्यक्रममा नबाेलाइएकाे आक्राेश थियाे उनकाे ।

कसरी भयाे परीक्षाकेन्द्र परिवर्तन

मङ्गलबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखाले एमबीएस र एमपीएको परीक्षा आउँदो आइतबार बिहान एघार बजे देखि हुने परिमार्जित सूचना प्रकाशित गर्यो । गएको आइतबार यस कार्यालयले प्रकाशित गरेको सूचनामा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिएको थियो । तर, परीक्षा केन्द्र तोकिएको सूचना प्रकाशित भएको दुईदिन नबित्दै डिनको कार्यालयले सूचना परिमार्जित गर्दै सोहि क्षेत्रमा रहेको राष्ट्रिय कलेजमा परीक्षा केन्द्र सारेको हो ।

अध्यक्ष हमाल स्टाट्स लेखे लगत्तै केही समय काठमाडाैंको बसाईपछि कैलाली फर्किएका थिए । आइतबार  परीक्षा केन्द्र तोकिए पश्चात् व्यवस्थापनमा जुटेको घोडाघोडी बहुमुखी क्याम्पस र विद्यार्थीहरु परिमार्जित सूचनाका कारण चकित परेका छन् । जुन कुराको अहिले स्थानीय रुपमा सर्वत्र चियोचर्चा समेत भईरहेको छ ।

डिनको कार्यालयको धारणा यस्तो ‘त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कय, परीक्षा नियन्त्रण महाशाखाद्वारा सेमेष्टर प्रणाली अन्तर्गत सञ्चालित एमबीएस र एमपीएमा २०७७ सालमा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०१९ देखि २०२० सम्ममा उल्लेखित कार्यक्रममा भर्ना भई चौथो सत्रको परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको चौंथो सत्रको नियमित परीक्षा आउँदो आइतबार बिहानको ११ः३० बजेदेखि सञ्चालन हुने गरी देशभरका ५६ कलेजमा परीक्षा केन्द्र तोकेको छ ।’ तर, घोडाघोडीको हकमा बाहेक अन्य कुनैको हकमा परिमार्जित सूचनाले फरक परेको छैन । यस अघिका दिनहरुमा घोडाघोडी बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकिँदै आएको र हाल परीक्षा केन्द्र परिमार्जित गरिएको विषयलाई अन्यथा रुपमा नलिई दिन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

त्यस क्षेत्रमा एमबीएस पढाई हुने दुई वटा कलेज भएकाले आफुहरुले वैकल्पिक रुपमा राष्ट्रिय कलेजलाई छनोट गरिएको सहायक डिन श्रीकृष्ण खरेलको भनाइ छ । यी दुइ कलेज विचको आपसी द्वन्दका विषयमा आफू जानकार भएका कारण आगामी हुने परीक्षालाई आलोपालो परीक्षा केन्द्र हुने गरी सञ्चालन गरिने उनले बताए । त्यस क्षेत्र वरपर पर्ने गरी नजिक अन्य कुनै एमबीएस पढाई हुने कलेज नभएका कारण पनि समस्या सृजना भएको उनको भनाइ छ । परीक्षा केन्द्र सार्नु भन्दा एकदिन पहिले घोडाघोडी बहुमुखी क्यामपसका प्रमुख लक्ष्मी प्रसाद भट्टराईसँगको कुराकानीमा सहायक डिनले परीक्षा केन्द्र सार्नु पर्ने विषयमा राजनीतिक दबाब आएको सङ्केत गरेपछि, टिकापुर र धनगढी परीक्षा केन्द्र राख्दा विद्यार्थीहरुलाई समस्या हुने भएकाले पायक पर्ने गरी नजिकै राखि दिन आफूले नै भनेको क्याम्पस प्रमुख भट्टराईले बताए ।

परीक्षा केन्द्र सार्ने विषयमा डिनका प्रमुखलाई फोन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखाले आइतबार प्रकाशित गरेको परीक्षा केन्द्र सम्बन्धी सूचनामा आफ्नो कलेजमा परीक्षा केन्द्र नपरेको भन्दै, डिनका प्रमुख डिल्ली राज शर्मालाई आफूले फोन गरेको राष्ट्रिय कलेजका व्यवस्थापन समिति अध्यक्ष हमालले स्वीकारेका छन् । आफुहरुसँगको भेटघाटमा भएको सहमती बेघर सूचना आएको बारेमा डिनको कार्यालयलाइ जानकारी गराएपछि उक्त सूचना परिमार्जित गरिएको कलेज व्यवस्थापन समितिका अध्यक्ष हमालको तर्क छ ।

यी दुवै कलेज नजिकै भएकाले गर्दा, यस अघि आलोपालो गरेर परीक्षा केन्द्र तोकिने सहमती भएको थियो । तर, डिनको कार्यालयले प्रकाशित गरेको सूचनामा आफ्नो कलेजमा परीक्षा केन्द्र नपरेपछि डिनका प्रमुख शर्मालाई फोन गरेर सच्चाउन लगाइएको अध्यक्ष हमालको भनाइ छ । यस कुरामा राजनीतिक प्रतिशोध नसाध्न अध्यक्ष हमालले अनुरोध समेत गरेका छन् ।

राष्ट्रिय कलेज परीक्षा केन्द्रका लागि कति उपयुक्त

एक सूचना प्रकाशित गर्दै, आइतबार परीक्षा केन्द्र तोकिएका ५६ वटा कलेज मध्ये कुनै एक परीक्षा केन्द्र सार्नका लागि डिनको कार्यालयले मङ्गलबार पुनः परिमार्जित गर्दै सूचना प्रकाशित गरेको विषयमा नै खोट देखिन्छ । यी कुरामा पहिले नै डिनको कार्यालयले ध्यान दिएर सूचना प्रकाशित गरेको भए सायदै आशङ्का हुदैन थियो होला । रातारात परीक्षा केन्द्र सारिएको विषयले जुन अहिले निकै चर्चा पाइरहेको छ । क्यूएए प्राप्त र आवश्यक संरचनाले भरिपूर्ण घोडाघोडी बहुमुखी क्याम्पसबाट परीक्षा केन्द्र सारिएको हो । राष्ट्रिय माविले उपलब्ध गराएको साँघुरो जमिनमा बनेका जिर्ण जस्तै देखिने संरचनामा परीक्षा हुन लागेको छ। राष्ट्रिय कलेजमा पर्खाल नभएका कारण चारै तिरबाट खुल्ला छ । यस्तो वातावरण सुरक्षाका दृष्टिकोणबाट पनि उपयुक्त होइन । त्यसो त, अघि पछिको समयमा भन्दा परीक्षाको समयमा विद्यार्थीहरुमा बढी तनाब र डर हुने गर्दछ । यस्तो अवस्थामा राजनीतिक उन्माद देखाउँदै शक्ति प्रदर्शन गरेर परीक्षा केन्द्र सार्नु भन्दा अनुकुल भयरहित वातावरणमा परीक्षार्थीलाई उपस्थित गराई परीक्षालाई थप मर्यादित रुपमा सम्पन्न गर्न तर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्दछ ।

त्रिवि उपकुलपतिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जनाको नाम सिफारिस गरेको छ । जसमा बौद्धिक चोरीका आरोपित समेत समावेश भएको भनेर विभिन्न सञ्चार माध्यममा समाचार समेत आएका छन् । बौद्धिक चोरीको आरोप लागेकालाई त्रिवि उपकुलपतिका लागि सिफारिस गरिएको प्रति सर्वत्र आलोचना समेत भइरहको छ । बेला बखतमा भइरहने राजनीतिक खिचातानीका कारण त्रिवि ओरालो लाग्दै गरेको भान हुने गरको छ । हचुवाको भरमा निर्णय गर्ने अनि राजनीतिक दबाबमा दुई दिन नबित्दै आफ्नै निर्णय उल्टाउने पदाधिकारी र तिनको निर्णय हास्यास्पद छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार