सुदुरपश्चिममा नेपाल दलित मुक्तिमोर्चाको प्रदेश कमिटीको बैठक सम्पन्न

धनराज विक / साउन ६ धनगढी

नेपाल दलित मुक्तिमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रोपूण बैठक धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रदेश कमिटीका पदाधिकारीले रिपोर्टिङ राख्दै मोर्चालाई सशक्त बनाउने गरी आगामी कार्ययोजना तयार पार्दै साउन ५ गते बैठक सम्पन्न भएको हो ।

बैठकमा रिपोर्टिङ राख्नेहरुले नेकपा माओवादी केन्द्र पार्टीले वेवास्ता गरेकै कारण मोर्चा सशक्त हुन नसेकेको बताए । अन्य भातृ संगठनमा पार्टीले समय दिएजस्तै नेपाल दलित मुक्तिमोर्चाको संगठन निमार्ण र विस्तारमा पार्टीले सहयोग नगरेको दुःख व्यक्त गरेका थिए ।

जनयुद्धदेखि आजसम्म पार्टीको बलियो आधारक्षेत्र मानिएको दलित समुदाय र नेपाल दलित मुक्तिमोर्चालाई सशक्तरुपमा चलायमान गर्न पार्टी चुकेको निष्कर्षमा बैठकका सहभागीहरु पुगेका थिए । सबैभन्दा बढी उत्पीडनमा परेको दलित समुदाय शान्ति प्रक्रियापछि यता जनयुद्धको जस्तै प्राथमिकतामा नरहेको र पार्टीले पनि बेवास्ता गरेको तीतो अनुभव सुनाएका थिए ।

नेकपा माओवादी केन्द्र पार्टी नेतृत्व र पार्टीलाई बचाउन जस्तोसुकै त्याग तपस्या र बलिदान दिन तयार रहेको बैठकका सहभागीहरुले बताएका थिए । परिवर्तनका निम्ती हामीहरु जस्तोसुकै मूल्य चुकाउन अहिले पनि तयार छौं । हाम्रो हिम्मत र साहासलाई बलियो बनाउन नेपाल दलित मुक्तिमोर्चाको बीचमा पार्टी उभिनु पर्नेमा बोल्ने वक्ताहरुले जोड दिए । सुदूपश्चिमको पार्टी नेतृत्वले नेपाल दलित मुक्तिमोर्चालाई कसरी अगाडी बडाउने भन्ने बारेमा मोर्चासंग छलफल गर्दै तालमेल गरेर काम गर्नुपर्ने बताए । पार्टी मोर्चाको साथमा अर्थपूर्ण तरिकाले नउभिदासम्म मोर्चा आफैले जती कामगर्न खोजेपनि अधुरो हुने भन्दै पार्टीको सहयोगको आवश्यक्ता मोर्चालाई रहेको बैठकका सहभागीले बताए ।

नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय महासचिब एवम् बैठकका प्रमुख अतिथि शंकर दुलालले दलितको समस्या राज्यको समस्या हो, गैरदलितको पनि समस्या हो । सबैको साझा समस्याा समाधान गर्न राज्य अग्रसर हुनुपर्ने बताए । राज्यले समस्याको हल नगरेसम्म समस्याको समाधान नहुने भन्दै शान्ति प्रक्रियापछि माओवादी पार्टीमा ब्राहमणवाद् हाबी हुँदै गएको दलित समुदायलाई राम्रो संग थाहा भएको दुलालले बताए ।

उनले भने –‘ दलितलाई हेर्ने दृष्टिकोण पार्टीका गैरदलितमा पनि फरक छ । पार्टीभित्र पनि संघर्ष गर्नुपर्ने देखिन्छ । अहिले दलित समुदायले भोट हालेन भन्ने भ्रमपूर्ण कुरा उठ्ने गरेको छ । कसले भोट दियो ? कसले दिएन भन्ने केको आधारमा भन्न खोजिदै छ ? पार्टीमा प्रश्न गर्नेलाई उनले प्रति प्रश्न गरे ?’ दलित समुदायको नेतृत्वको विकास अति आवशयक रहेको भन्दै नेतृत्वको विकास गर्नमा सबै लाग्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम फ्याकसन इन्चार्ज ओमप्रकाश पुनले सामाजिकसत्ता, पार्टीसत्ता र राज्यसत्तामा दलित समुदायको पँहुच हुनुपर्ने बताए । दलित समुदाय वैज्ञानिक समुदाय भएकोले वैज्ञानिक समुदायमाथि भएको सामाजिक विभेदका विरुद्ध सबैले आवाज उठाउनु पर्ने पुनले बताए । उनले भने –‘राज्यसत्तामा दलितको पहँचका लागि संरक्षण निर्वाचन क्षेत्र तोकिनुपर्छ । अहिलेपनि जातीय विभेदकै कारण दलित समुदायका घर जलाईनु लाशहरु अस्पतालमा न्याय नपाएर सड्नु विडम्वना हो । परिवर्तनका निम्ती दलित समुदायको आत्मसम्मान र अधिकारका लागि ठूलो क्रान्ति गर्न आवश्यक देखिन्छ ।’ जबसम्म बाुहन क्षेत्रीको घाँटीमा जनै रहीरहन्छ तबसम्म दलित समुदायमाथि जातीय विभेद भईरहने पुनले बताए । पुनले विभेदका विरुद्ध परिवर्तनका पक्षमा कविता सुनाउदै कला साहित्य गीतसंगीतको माध्यामबाट पनि कान्ति गर्न सकिने बताए ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सहसचिब केशवनाथ योगीले हिजोको पार्टीको अनुशासन शैली र व्यवहार अहिले नरहेकोमा दुःख व्यक्त गरे । उनले भने–‘मोर्चा चलायमान हुन नसक्नुमा पार्टीले ध्यान दिन नसेकेको यहाँ गुनासो आएको छ यो सत्य हो । पार्टीको आधारवर्ग दलित समुदाय भएकोले पार्टीले विशेष प्राथमिकतामा राखेर सहयोग गर्नुपर्छ ।’ प्रदेश कमिटीको बैठकपनि नबसेरै सकिने होकि भन्ने जस्तो देखिन्छ । पदका लागि मरिहत्ते गर्ने जनताको बीचमा नजाने,समस्या पार्टीमा हाबी हुँदै गएकोले समस्या उत्पन्न भएको उनले बताए । नेतालाई गिफ्ट लगेर भेट्न जाने, चाकडी गर्ने चलनको अन्त्य हुनुपर्ने भन्दै पार्टी प्रक्रियालाई मिचेर मनोमानी रुपमा निर्णय गर्ने गरकै कारण पार्टीमा समस्या बढ्दै गएको उनले बताए ।

नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय सचिब गोन्दिराज बिसी ‘विकास’ले पार्टीलाई बलियो बनाउन मोर्चालाई चलायमान बनाउनु पर्ने बताए । पार्टी नेता कार्यकर्ताकै कारण कमजोर बन्दै गएको छ । पार्टीलाई जनयुद्धकै अवस्था सम्म पुगाउन व्यवहार सच्याउनु पर्ने भन्दै सरकारले गरेका राम्रा कामको बारेमा जनताको बीचमा प्रचार गर्न नसकिएको उनले बताए । जनताको बीचमा निरन्तर पार्टी निमार्णमा लागेकाहरुको मूल्यांकन नभई नेताको वरिपरी घुम्नेले पद पाउने, अवसर पाउने प्रवित्तिकै कारण पार्टी कमजोर बन्दै गएको उनले बताए ।

नेपाल दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य, पार्टी प्रदेश कमिटी सदस्य एवम् जनकलाकार बिस्ना बिसी सपनाले बैठकमा पार्टी र मोर्चालाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भएको बताईन् । नेता कार्यकर्ताको व्यवहारले जनतामा निराशा छाएकोले व्यवहार परिवर्तन गरेर जनताको बीचमा जानुको विकल्प नरहेको बिसीले बताईन् । बैठकले भेला नभएका जिल्लामा भेला आयोजना गर्ने,आन्तरिक पार्टी प्रशिक्षण संचालन गर्ने र सर्वपक्षिय रुपमा दलित हक अधिकार र जातीय विभेदका निम्ती प्रदेश तथा जिल्लामा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय भएको उनले बताईन् । परिवर्तनलाई संस्थागत गर्न आशावादी भएर फेरी एकपटक पार्टी निमार्णमा सबै लाग्नु पर्नेमा बिसीले जोड दिईन् ।

नेपाल दलित मुक्तिमोर्चाका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष जगत बिकले बैठकमा मोर्चाको केन्दिय भेलाले परिपत्र गरेको निर्णय र निर्देशनको बारेमा जानकारी गराएका थिए । बैठकले प्रदेशको कमिटीलाई पूर्णता दिन २६ जनालाई मनोनित गरेको छ भने भेलाबाट १ सय १ जना निर्वाचित भएका थिए । मोर्चाका अध्यक्ष जगत बिकको अधयक्षतामा भएको कार्यक्रमको संचालन मोर्चाका प्रदेश सचिब रमेश सुनारले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार