बर्दगोरिया गाउँपालिकाले व्यवसाय दर्ता निःशुल्क गर्ने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्षबाट व्यवसाय दर्ता निःशुल्क गर्ने नीति अघि सारेको छ । मुक्त कमैया, मुक्त हलिया, सुकुम्वासी, सहिद तथा बेपत्ता परिवार र द्धन्द पीडितहरूलाई व्यवसाय दर्ता निःशुल्क गर्ने गाउँपालिकाले जनाएको छ ।

पछाडि पारिएका वर्ग र समुदायको अवस्था माथि उकास्न तथा उनीहरूलाई सहज रूपमा आय आर्जनमा जोड्न गाउँ सरकारले यस्तो नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “कतिपय व्यवसाय गर्न इच्छुक हुँदा हुँदै पनि दर्ता शुल्ककै कारण वा अन्य कारणले पनि व्यवसाय दर्ता नगर्ने र सरकारी सहयोगबाट वञ्चित हुने गरेको पाइयो । यो समस्याको समाधान गर्दै जनतालाई सरकारको प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न म सँगै उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू सबै लागेका छौ । हाम्रो यो कामले पछाडि परेका र व्यवसाय गर्न इच्छुक सबैलाई ठुलो मदत पुग्छ भन्ने अपेक्षा राखेका छौ ।” अध्यक्ष कुँवरले भने ।

गाउँपालिकाले व्यवसायको प्रकृति हेरेर ५ सय देखी ५० हजार सम्म व्यवसाय दर्ता शुल्क लिने गरेको छ । यस्तै गाउँपालिकाले तत्कालीन शान्ति समितिले प्रमाणित गरेका १० वर्षे जनयुद्ध कालका सहिद तथा बेपत्ता पारिएका परिवारलाई एकीकृत सम्पत्ति कर मिनाहा गर्ने पनि जनाएको छ । हाल गाउँपालिकाले आम्दानीको आधारमा २५ रुपैयाँ देखी १२ हजार सम्म एकीकृत सम्पत्ति कर लिने गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार