लम्कीचुहा को ११ औँ नगरसभा सुरु; नगर प्रमुख शाही द्वारा निति तथा कार्यक्रम प्रस्तुत

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाको ११ औँ नगरसभाको पहिलो बैठक सुरु भएको छ । “समृद्ध नगर, समानुपातिक विकास सुखी नगरवासी, जनउत्तरदायी स्थानीय सरकार” भन्ने मुल नाराका साथ ११ औं नगर सभाको पहिलो वैठक बिहीबार (आज) देखि सुरु भएको हो ।

नगर सभामा नगर प्रमुख सुशिला शाहीले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

नगर प्रमुख शाहीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, युवा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा सहकारी कार्यक्रम, पूर्वाधार निर्माण तथा दिगो विकास, उद्यम, स्वरोजगारी र सहकारिता, सूचना प्रविधि तथा सञ्चार क्षेत्र विकास, मानव संसाधन, जनशक्ति परिचालन तथा सुशासन लगाएतका कार्यक्रमलाई प्राथमिकता दिएको बताइन् ।

यस्तै संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन, सामाजिक विकास तथा गरिबी निवारण, वन तथा वातारण, पर्यावरणको रक्षा, खानीजन्य पदार्थको संरक्षण र सामुदायिक वनहरुको दिगो विकास, प्राकृतिक विपद, व्यवस्थापन, पुनर्स्थापना, पुनर्निर्माण तथा पूर्वतयारी लगाएतका कार्यक्रमलाई प्राथमिकता दिने गरी निति तथा कार्यक्रम ल्याइएको छ । नगर प्रमुख शाहीले अशक्त, असहाय, गरिब, अतिविपन्न, अपाङ्ग, गर्भवती महिला, ज्येष्ठ नागरिक, जस्ता व्यक्तिहरुलाई राहतका कार्यक्रम समेत समेटिएको बताइन् ।

कृषि तर्फ उत्पादनमुखी कृषि अनुदानका कार्यक्रमलाई निरन्तरता दिइने, नगर प्रमुख कृषि पकेट क्षेत्र निर्धारण गरी संचालन गरिने बताइएको छ । यस्तै कृषिलाई आधुनिकीकरण तथा व्यवसायमुखी बनाउन एक वडा एक कृषि प्राविधिक कार्यक्रम संचालन गरिने । नगर क्षेत्र भित्र कृषक पाठशाला स्थापना गरिने, खोलाको बगर क्षेत्रमा बगर खेतीलाई प्रोत्साहित गर्दै खरबुजा, तरबुजा, बयर खेती, बेतबाँस खेती गर्न कृषकहरुलाई प्रोत्साहित गरिनेछ र निजी तथा बाँझो जग्गामा फलफूल तथा अन्य विरुवा लगाउन कृषकलाई अभिप्रेरित गरिने समेत नगर प्रमुख शाहीले बताइन् ।

यस्तै चैते धान र चैते मकै बालीमा अनुदानको व्यवस्था गरिने, पोखरी ममर्त सम्भार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, युवा स्वरोजगार कर्जा, दलित व्यवसाय विकास कर्जा, विना धितो सरल सहज रुपमा कर्जा तथा व्याज अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गरिने पनि निति तथा कार्यक्रममा समावेश गरिएको छ । कैलाशधाम तीर्थस्थल लम्कीचुहा नगरपालिका वडा नं ३ बल्चौर रहेको गौशाला निर्माणलाई छाडा पशु–चौपाया व्यवस्थापनमा प्रयोग गर्न आवश्यक कार्यविधि बनाइ लागु गरिने समेत नगर प्रमुख शाहीले बताउनुभयो ।
यस्तै “हाम्रो संस्कृति, हाम्रो पर्यटन; हाम्रो सम्पदा, हाम्रै संरक्षण” नारालाई सार्थक बनाउन नगरपालिका क्षेत्रभित्र रहेका समस्त जातजाति, भाषा, धर्म, कला, संस्कृतिको संरक्षण र प्रतिनिधित्व हुने गरी वीपी सांस्कृतिक सङ्ग्रहालयको स्थापना गरिने कुरा समेत निति तथा कार्यक्रममा समेटिएको छ ।

स्वाथ्य तर्फ नगर गौरवको योजना अन्तर्गत रहेको चुहा स्थित निर्माणाधीन ५० शैंयाको अस्पताललाई क्रमागत योजनाको आधारमा निर्माण अघि बढाइने, नगरप्रमुखसँग मातृशिशु स्वास्थ्य तथा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी तथा गर्भवती आमाको लागि पोषण प्याकेजको व्यवस्था गर्ने र मेयरसंग छोरी कार्यक्रम अन्तरगत लम्कीचुहा नगरभित्र छोरी जन्माएका आमाहरुलाई छोरी स्याहार भत्तालाई निरन्तरता दिइने समेत बताइएको छ ।

यस्तै आगामि तर्फको निति तथा कार्यक्रममा शिक्षा तर्फ नगरपालिकाले उपलव्ध गराउदै आएको आधारभुत तहको प्रा. वि. र नि.मा.वि. नगर अनुदान, बालविकास शिक्षक, शिक्षक कर्मचारीहरुको अनुदानमा बृद्धि गरिने नगर प्रमुख शाहीले बताउनुभयो । नगर भित्र रहेका सामुदायिक माध्यमिक विधालयहरुलाई मा.वि. नगर अनुदान कोटा सृजना गरिने समेत बताइएको छ भने नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थीको अनुपात हेरी शिक्षकको दरबन्दी मिलान गरिने र मापदण्ड निर्माण गरी शिक्षकहरुको तहगत तथा विषयगत रुपमा काज सरुवाको व्यवस्था गरिने समेत नगर प्रमुख शाहीले बताइन् ।

पूर्वाधार विकास तर्फ लम्कीचुहा नगरपालिका वडा नं ०४ स्थित भल्कामा आगामी वर्षदेखि बहु–उद्देश्यीय सीटी हल निर्माणको थालनी गरिने, लम्कीचुहा नगरपालिका भित्र वि.पी. स्मृति, पुष्पलाल प्रतिष्ठान र गणतान्त्रिक प्रतिष्ठान नेपालको भवन निर्माण गरिने, मेयर सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

“स्थानीय सरकार जनताको साथमा, जनजनको चाहना लाल पुर्जा हातमा” भन्ने नारालाई समेत सार्थक बनाइ भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न लगत संकलन, प्रमाणीकरण, जग्गा नापी र पूर्जा वितरण कार्यलाई निरन्तरता दिइने बताइएको छ भने घरबास विहीन नगरबासीको पहिचान गरी आवासको व्यवस्था गरिने समेत नगर प्रमुख शाहीले बताइन् ।
यस्तै नगरपालिकाको निति तथा कार्यक्रममा लम्कीचुहा नगरपालिका भित्र यातायातलाई सहज बनाउन नगर बस सेवा संचालनका लागि पहल गरिने बताइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार