बर्दगोरिया-६ बाट शुरूवात भयो छोरी जीवन बीमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालयले छोरीको जीवन बीमाको शुरुआत गरेको छ । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न, बालबिबाह, महिला तथा लैङ्िगक हिंसा न्यूनीकरणमा सहजता पुर्याउनका लागि वडा कार्यालयले छोरी जीवन बीमा कार्यक्रमको शुरूवात गरेको हो ।

बिहिवार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बौनियामा शाखासहित संचालित सीटीजन लाइएफ जीवन बीमा कम्पनीसंग सम्झौताबमोजिम वडाभित्र जन्मिएका १० वटा छोरीको जीवन बीमा गरि कार्यक्रमको शुरूवात गर्नुभएको छ । जसअन्तर्गत वडाभित्र स्थायी बसोबास गर्ने, चालू आर्थिक वर्षभरी स्वास्थ्य संस्थामा जन्म भएका तर व्यक्तिगत घटना अभिलेखमा ३५ दिनभित्र दर्ता गराएका छोरीको बीमा गरिएको हो ।

वडा कार्यालयले ´´अझै सानो छु मलाई बढनदेउ, विवाह होईन पढनदेउ“ भन्ने मुलउदेश्यसहित आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट, नीति तथा कार्यक्रमअन्तर्गत छोरीको जीवन बीमा कार्यक्रमको शुरूवात गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताउनुभयो । उहाँकाअनुसार १० जना छोरीलाई प्रतिव्यक्ति २० हजारका दरले पहिलो किस्ताबापत २ लाख रुपैयाँ बीमा कम्पनीलाई प्रदान गरिएको छ ।

जीवन बीमा कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष डगौरा थारुले भन्नुभयो – पछिल्लो समय समाजमा छोरीप्रतिको धारणा र भावना परिवर्तन गर्नका लागि हामीले पालिकामै पहिलोपटक छोरीको जीवन बीमा कार्यक्रमको शुरुवात गरेका हौ,यसप्रति अभिभावक पनि थप जिम्मेवार बन्नुपर्नेछ । उहाँले भन्नुभयो समाजमा अहिले पनि गर्भमा छोरी रहेको थाहा पाएपछि भुर्ण हत्या हुनेगरेका घटना देखिन्छन् जुन दण्डनिय कार्य हो । हामीले छोरीको जीवन बीमा कार्यक्रमको शुरूवात सङै अब आगामी दिनमा छोरी जन्माउने आमालाई पनी प्रोत्साहन उन्मुख कार्यक्रम संचालन गर्ने उहाँले बताउनुभयो ।

वडा अध्यक्ष डगौरा थारुले भन्नुभयो – छोरी जन्मिदा विभेद नगरौ, छोरी जन्मिएकोमा श्रद्धा गर्दै छोरीलाई उच्च शिक्षा दिने अभियानमा जुटौ ।

१५ वर्षिय जीवन बीमा कार्यक्रम अन्तर्गत यो कार्यक्रम पहिलोपटक वडा नम्बर ६ ले शुरुवात गरेको हो । छोरीको जीवन बीमा कार्यक्रमले १५ वर्षको अबधिसम्म परिवार र छोरी दुबैले स्वास्थ्य उपचार सेवा तथा भइपरी आउने दुर्घटना जस्ता घटनामा लाभ पाउनेछ्न । यसैगरी १५ बर्ष पुगेपछि बीमा रकम बापतको दोब्बर रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार