काठमाडौंको तीनकुने क्षेत्रमा कुनै पनि विरोध, प्रदर्शन र सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरूले गरेको विरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए ।  उक्त घटनामा दोषी उपर आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन दिए ।

 चैत्र १५ गतेको घटनाको सत्य तथ्य छानबिन गरी प्रत्यक्ष, अप्रत्यक्ष रूपमा त्यसमा संलग्न हुने व्यक्तिहरूलाई आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत सुरक्षा निकायलाई साधन श्रोत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार