घोडाघोडी बहुमुखी क्याम्पसमा सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ सम्बन्धि तीन दिने तालिम सुरु

कैलाली । कैलालीकाे सुखडमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूका लागि ‘सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ विषयक तीन दिने तालिम सुरु भएको छ । आज सोमबारदेखि कैलालीकाे घोडाघोडी नगरपालिका १, स्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा तालिम सुरु भएको हाे ।

विश्वविद्यालय अनुदान आयोग र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभागले तालिमको आयोजना गरेकाे हाे  । कैलाली, कञ्चनपुर र डाेटीका सामुदायिक क्याम्पसका प्राध्यापकहरूको क्षमता विकास गरि सामाजिक क्षेत्रमा अनुसन्धान र अध्ययन गर्नका लागि तालिम सञ्चालन गरिएकाे आयोजकले जनाएको छ ।

तालिममा कैलालीका मोहन्याल बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस र कञ्चनपुरको भानु बहुमुखी क्याम्पस, कृष्ण बैजनाथ बहुमुखी क्याम्पस र डाेटीकाे विपिनगर बहुमुखी क्याम्पसका पदाधिकारी तथा प्रतिनिधिको  सहभागिता रहेको थियो । यसका साथै घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि तथा घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी, सञ्चालक समिति पदाधिकारी र स्वतन्त्र विद्यार्थी युनियनकाे समेत सहभागिता रहेको थियो ।

घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारी रहेका थिए । त्यस्तै विशिष्ट अतिथि सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक तथा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावत रहेका थिए । त्यस्तै कार्यक्रमा विभिन्न राजनीतिक दल र सङ्घसंस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

तालिममा सहभागिले हासिल गरेकाे ज्ञानलाई व्यवहारमा लागु गर्ने र विभिन्न क्षेत्र वा विषयमा अनुसन्धानात्मक लेख एवं कृति प्रकाशन गर्ने अपेक्षा सहित कार्यक्रमकाे आयोजना गरिएकाे घाेडाघाेडी बहुमुखी क्याम्पस अनुसन्धान विभाग प्रमुख डा. दिपकराज जाेशीले बताउनु भयाे ।

कार्यक्रममा आज पहिलाे दिन डा. प्रकाश श्रेष्ठ, डा. मधु गिरी, डा. दिपक भट्टले अनुसन्धान विषयमा प्रस्तुति दिनु भएकाे थियाे । साथै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले घाेडाघाेडी बहुमुखी क्याम्पसकाे पुस्तकालय भवनकाे समेत उद्घाटन गर्नुभएकाे थियाे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार