कुन बालीका लागि कति रासायनिक मल आवश्यक ? यस्तो छ नार्कको सिफारिस

काठमाडौँ । नेपालमा बर्सेनि करिब ५ लाख मेट्रिक टन रासायनिक मल खपत हुँदै आएको छ । तर क्षेत्रफल अनुसार रासायनिक मलको प्रयोग अत्यधिक भइरहेको भन्दै विज्ञले यसमा आधा कटौती गर्न सकिने जनाएका छन् ।

सिफारिस मात्रा अनुसार मल प्रयोग गर्न सके करिब आधा रासायनिक मल जोगिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ बताउँछन् । ‘युरिया मलको अत्यधिक प्रयोग भएको छ,’ उनले भने, ‘अनावश्यक रुपले मल प्रयोग गर्दा एकातिर माटोको गुणस्तर खस्केको छ भने अर्कोतिर राज्यको कोषमा पनि भार परेको छ, यदि मलको सही मात्रा मिलाएर प्रयोग गर्ने हो भने हाल प्रयोग भइरहेको मलको मात्रा आधा जोगाउन सकिन्छ ।’

उनले बिस्तारै रासायनिक मलको प्रयोग घटाउनतिर ध्यान दिनुपर्नेमा जोड दिए । यसका लागि प्राङ्गारिक मल प्रयोग गर्न उनले सुझाएका छन् । तर एकैपटक रासायनिक मलको प्रयोग छाडेर प्राङ्गारिक मलमै जोड दिने नभइ बिस्तारै रासायनिक मलको मात्रा घटाउन उपयुक्त हुने उनको भनाइ छ ।

नेपालमा उपलब्ध हुने हरियो मल, गोठ मल, जैविक मलको प्रयोग बढाउँदै लैजान डा. श्रेष्ठको सुझाव छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पछिल्लो पटक नेपालमा करिब पाँच दशकपछि धान, मकै र गहुँ बालीका लागि स्थान विशेष रासायनिक र प्राङ्गारिक मल सिफारिस गरेको छ । माटोको उर्वरता र यी तीन बालीको उत्पादनको आधारमा ठाउँअनुसार मलको मात्रा फरक–फरक सिफारिस गरिएको हो ।

नेपालमा सन् १९७६ मा पहिलो पटक माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाले बालीका लागि मलको मात्रा सिफारिस गरेको थियो । सोही मात्राअनुसार कृषकले विगत ४७ वर्षदेखि मल प्रयोग गर्दै आएका छन् ।

पछिल्लो समय बढ्दो कृषि प्रविधिअनुसार मलको मात्रा पनि फरक पर्ने भन्दै नार्कले धान, मकै र गहुँबालीका लागि स्थान विशेषअनुसार मलखाद सिफारिस गरेको हो । यी बालीका लागि स्थानीय माटोको उर्वरा शक्ति र हालको उत्पादनलाई ध्यान दिइ स्थान विशेष मलखाद सिफारिस गरिएको हो । राम्रोसँग माटो व्यवस्थापन गरी उचित तरिकाबाट मलखाद प्रयोग गरेमा बालीको उत्पादन २५ प्रतिशतसम्म बृद्धि हुने नार्कले जनाएको छ ।

धानबालीका लागि सिफारिस गरिएको मलखादको मात्रा
पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा धान खेती गर्दा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर हाल्नुपर्ने नार्कले जनाएको छ । ती क्षेत्रमा धान खेतीका लागि फस्फोरस ४० किलो र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्न सुझाव दिइएको छ ।

मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा धान बाली लगाउँदा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ ।

पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासीमा धान खेतीका लागि नाइट्रोजन एक सय ३० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । ती क्षेत्रमा फस्फोरस ४० किलो प्रतिहेक्टर र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।

उता, बाँकेदेखि कञ्चनपुरसम्मको क्षेत्रमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर, फस्फोरस र पोटास प्रतिहेक्टर ३०–३० किलो प्रयोग गर्नुपर्ने उल्लेख छ ।

भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर जिल्लामा धानका लागि नाइट्रोजन एक सय २५ किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । त्यस्तै, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।

मुलुकभरका धान बालीमा जिङ्क दुईदेखि तीन किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ । सबै क्षेत्रका धान बालीमा बोरोनको मात्रा भने प्रतिहेक्टर एक किलो हाल्न सकिने नार्कले जनाएको छ ।

पहाडी क्षेत्रमा धान बालीमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर तथा फस्फोरस र पोटास ३०–३० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

सबै क्षेत्रमा रोपिने वर्णशंकर धान बालीको लागि नाइट्रोजन एक सय ५० किलो प्रतिहेक्टर, फस्फोरस ५० किलो र पोटास ६० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

मुलुकभरका धान बालीमा जिङ्क दुईदेखि तीन किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ । सबै क्षेत्रका धान बालीमा बोरोनको मात्रा भने प्रतिहेक्टर एक किलो हाल्न सकिने नार्कले जनाएको छ ।

धान बालीमा मल प्रयोग गर्ने विधि

धान बालीमा रासायनिक मलको प्रयोग गर्दा फस्फोरस, पोटास, जिङ्क सल्फेट, बोरेक्सको पूरै मात्रा र नाइट्रोजनको एक तिहाइ भाग जमिनको अन्तिम तयारीमा प्रयोग गर्न सकिन्छ ।

धान बालीमा गाँज आउने अर्थात् २५ देखि ३० दिनमा एक तिहाइ नाइट्रोजन प्रयोग गर्न र बाँकी एक तिहाइ भाग धान फुल्नु भन्दाअघि अर्थात् ५० देखि ५५ दिनपछि प्रयोग गर्न नार्कले भनेको छ ।

गहुँ बालीमा कति मल हाल्ने ?

पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा गहुँ बाली छर्दा नाइट्रोजनको मात्रा प्रतिहेक्टर एक सय ४० किलो सिफारिस गरिएको छ । मध्य तराईको पर्सादेखि सप्तरीसम्मका क्षेत्रका गहुँ बालीमा नाइट्रोजनको मात्रा प्रतिहेक्टर एक सय ३० किलो प्रयोग गर्न भनिएको छ ।

देशभरका गहुँ खेती गर्ने किसानले ५०–५० किलो फस्फोरस र पोटास मल प्रतिहेक्टर प्रयोग गर्नुपर्ने नार्कले जनाएको छ । यस्तै, गहुँ बाली लगाउने खेतमा प्रतिहेक्टर साढे एक किलो बोरोन प्रयोग गर्न नार्कले सुझाएको छ ।

पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र परासीमा गहुँ बाली उत्पादन गर्दा नाइट्रोजनको मात्रा प्रतिहेक्टर एक सय ४० किलो प्रयोग गर्न सिफारिस गरिएको छ । बाँकेदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रका लागि नाइट्रोजनको मात्रा एक सय २५ किलो प्रतिहेक्टर सिफारिस गरिएको छ ।

नार्कका अनुसार भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर क्षेत्रमा गहुँ खेती गर्दा एक सय २० किलो प्रतिहेक्टर नाइट्रोजन प्रयोग गर्न सकिन्छ । पहाडी भागमा गहुँ खेतीका लागि नाइट्रोजन मल एक सय किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ ।
देशभरका गहुँ खेती गर्ने किसानले ५०–५० किलो फस्फोरस र पोटास मल प्रतिहेक्टर प्रयोग गर्नुपर्ने नार्कले जनाएको छ । यस्तै, गहुँ बाली लगाउने खेतमा प्रतिहेक्टर साढे एक किलो बोरोन प्रयोग गर्न नार्कले सुझाएको छ ।

गहुँ बालीमा कसरी मल हाल्ने ?

गहुँ बालीमा मल हाल्दा फस्फोरस, पोटास, बोरेक्सको पूरै मात्रा र नाइट्रोजनको एक तिहाइ हिस्सा जमिन तयारीको अन्तिम अवस्थामा हाल्न नार्कले सिफारिस गरेको छ ।

गहुँ बालीमा गाँज आउने अर्थात् २५ देखि ३० दिनमा एक तिहाइ नाइट्रोजन प्रयोग गर्न सकिन्छ । बाँकी एक तिहाइ नाइट्रोजन गहुँ फुल्नु भन्दाअघि अर्थात् ५० देखि ५५ दिनपछि प्रयोग गर्न नार्कले सुझाएको छ ।

धान र गहुँमा प्राङ्गारिक मल कति प्रयोग गर्ने ?

मुलुकभर धान र गहुँका लागि प्राङ्गारिक मलको मात्रा एउटै सिफारिस गरिएको छ । धान र गहुँबाली खेती गर्ने कृषकलाई प्रतिहेक्टर ६ टन प्राङ्गारिक मल प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

नार्कका अनुसार प्राङ्गारिक मलले माटोलाई हानि नपु¥याउने भएकाले सिफारिसमात्रा भन्दा बढी प्रयोग गर्दा माटो झनै खुकुलो हुने गरेको पाइएको छ ।

मकै बालीमा मल कति हाल्ने?

मकै बालीका लागि ठाउँ र जातअनुसार रासायनिक मलको मात्रा फरक हुने गरी सिफारिस गरिएको नार्कले उल्लेख गरेको छ । जसअनुसार, पूर्वी तराईका झापा, मोरङ र सुनसरी क्षेत्रमा मकै बाली लगाउँदा खुला सेचित मकैमा नाइट्रोजन एक सय ३० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ८० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ ।

मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा खुला सेचित मकैमा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ५० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ ।

पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासी क्षेत्रमा खुला सेचित मकै खेती गर्ने किसानलाई नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टरका दरले प्रयोग गर्न सिफारिस गरिएको छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ८० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ ।

पहाडी भागमा मकै खेती गर्ने किसानले खुला सेचित मकैलाई एक सय २० किलो प्रतिहेक्टर र वर्णशंकर मकैमा एक सय ५० किलो प्रतिहेक्टर नाइट्रोजन प्रयोग गर्नुपर्ने नार्कले जनाएको छ ।

यस्तै बाँकेदेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा खुला सेचित मकैका लागि नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ भने वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्ने नार्कले जनाएको छ ।

भित्री तराईको दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुरमा मकै खेती गरेमा खुला सेचित मकैका लागि नाइट्रोजन एक सय ३० किलो प्रतिहेक्टर सिफारिस गरिएको छ । वर्णशंकर मकैमा नाइट्रोजनको मात्रा एक सय ८० किलो प्रतिहेक्टर निर्धारण गरिएको छ । पहाडी भागमा मकै खेती गर्ने किसानले खुला सेचित मकैलाई एक सय २० किलो प्रतिहेक्टर र वर्णशंकर मकैमा एक सय ५० किलो प्रतिहेक्टर नाइट्रोजन प्रयोग गर्नुपर्ने नार्कले जनाएको छ ।

देशभर खुला सेचित जातको मकै खेती गर्दा फस्फोरस ६० किलो प्रतिहेक्टर र पोटास ४० किलो प्रतिहेक्टर प्रयोग गर्न सकिन्छ । मुलुकभर वर्णशंकर मकै लगाउँदा फस्फोरस र पोटास ६०–६० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ ।

देशभर र सबै जातका मकै बालीमा जिङ्कको मात्रा २ किलो प्रतिहेक्टर र बोरोन साढे एक किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सुझाएको छ ।

यस्तै, मुलुकभर मकैका लागि प्राङ्गारिक मलको मात्रा एउटै सिफारिस गरिएको छ । प्रतिहेक्टर १० टन प्राङ्गारिक मल मकै खेतीका लागि प्रयोग गर्न सकिने नार्कले जनाएको छ ।

मकै बालीमा मल कसरी हाल्ने ?

रासायनिक मलको प्रयोग गर्दा फस्फोरस, पोटास, जिङ्क सल्फेट र बोरेक्सको पूरै मात्रा तथा नाइट्रोजनको एक तिहाइ मात्रा जमिनको अन्तिम तयारीको समयमा हाल्न नार्कको सुझाव छ । एक तिहाइ नाइट्रोजन बालीको ६ पाते अवस्थामा र बाँकी एक तिहाइ १० पाते भएपछि प्रयोग गर्नुपर्ने नार्कले उल्लेख गरेको छ ।

रासायनिक मलमा अर्बौं रकम खर्च

रासायनिक मलमा मात्रै अर्बौं रकम खर्च भएको सरकारी तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षमा मात्रै करिब ३० अर्ब रुपैयाँ रासायनिक मलको लागि सरकारले छुट्याइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा १२ अर्ब बजेट विनियोजन भएको थियो भने २०७७/०७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि छुट्याइएको थियो ।

नेपालमा धान, माकै र गहुँको उत्पादन कति ?

नेपालमा मुख्य गरी धान बाली दुई सिजनमा लगाउने गरिन्छ । एक चैते र अर्को बर्खे । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा १ लाख ४ हजार हेक्टर क्षेत्रफलमा चैते धान बाली लगाइएको छ । यस्तै, १३ लाख ३४ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ गरिएको थियो ।

मुलुकभर चालु आर्थिक वर्षमा चैते धान ५ लाख २० हजार मेट्रिक टन र बर्खे धान ५२ लाख ३ हजार मेट्रिक टन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा चैते र बर्खे गरी ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर वार्षिक रुपमा ९ लाख हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ । सो क्षेत्रफलबाट २९ लाख ८० हजार मेट्रिक टन मकै उत्पादन हुन्छ ।

यस्तै, देशभर ७ लाख हेक्टर क्षेत्रफलमा गहुँ खेती हुन्छ र सो क्षेत्रफलबाट वार्षिक रुपमा २१ लाख मेट्रिक टन हाराहारीमा गहुँ उत्पादन हुने मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

#साभार

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार