मनोसामाजिक समस्या र लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम समपन्न

धनराज विक / जेष्ठ १८

कैलाली । धनगढीमा मनोसामाजिक समस्या र लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ १७ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको श्री सिद्धनाथ माध्यामिक विद्यालयका विद्यार्थी संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

धनगढी उपमहानगरपालिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोग आइपास नेपाल, भिएसओ, पिसविन नेपाल र सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालन भईरहेको छ । सोही परियोजना अन्र्तगत समुदायमा अभिमुखिकारण कार्यक्रम महिला शाखाको समन्वय र अगुवाईमा निरन्तर रुपमा समुदायमा संचालन हुदै आएकाछन् ।

विद्यालयमा भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ८ देखि ११ कक्षाका विद्यार्थीको सहभागिता रहेको थियो । कक्षा ८ का विद्यार्थी संग अलगै र कक्षा ९ देखि ११ कक्षा सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अलगै गरेको छलफल कार्यक्रममा करिब डेढसय विद्यार्थीको सहभागिता रहेको थियो ।

कक्षा ११ मा अध्यनरत गिता विकले पहिलो पटक मनोसामाजिक समस्याको बारेमा थाहा पाएको बताईन् । लैंगिक हिंसाका कारणले पनि मनोसामाजिक समस्या हुन्छ भन्ने आफूले थाहा पाएको उनले बताईन् ।

एकआपसमा यसरी पहिलो पटक हामीहरुले विद्यालयमा मनका कुरा गर्न पाउँदा खुसी लागेको छ , समाजमा मन सम्बन्धी समस्या धेरैले भोगी रहेकाछन् । मनकै समस्याका कारण समाजमा आत्महत्याका घटना पनि घट्ने रहेछ भन्ने थाहा भएको छ । मनोसामाजिक समस्या र लैंगिक हिसाको बारेमा समुदायमा पनि अभिमुखिकरण कार्यक्रम गर्न आवश्यक रहेको भन्दै उनले स्थानीय सरकार संग कार्यक्रम संचालन गर्न अनुरोध समेत गरिन् ।

कक्षा ९ मा अध्यनरत सुनिता उपाध्यायले आफ्ना मनका कुरा भन्न पाउदा र साथीहरुका पनि मनका कुरा सुन्न पाउँदा खुसी लागेको बताईन् । तनावको व्यवस्थापन गर्नको लागि पनि खुलेर मनको कुरा भन्नुपर्ने सिकाई भएको छ ।

कक्षा १० मा अध्यनरत रुपेश सिंहले कार्यक्रम धेरै राम्रो र प्रेरणादायी लागेको बताए । मनोसामाजिक समस्या भयो भने कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा थाहा पाएको भन्दै यस्तो कार्यक्रम सबैलाई जरुरी भएको उनले बताए । कहिल्यै यसरी एकआपमा मनका कुरा गरेका थिएनौं । मनका कुरा भन्न पाउँदा मन शान्त र खुसी भएको छ ।

कार्यक्रमको सुरुवातीमा वडा नम्बर १२ का वडा अध्यक्ष शेर बहादुर महराले विद्यालयमा विद्यार्थी संग कार्यक्रम गर्नुको महत्व बारे बताएका थिए । समाजमा मनोसामाजिक समस्या र लैंगिक हिंसाको समस्या बढ्दै गएकोले यसको रोकथामको लागि विद्यार्थीको भूमिका प्रभावकारी हुने अपेक्षाले कार्यक्रम गर्न खोजिएको महराले बताए ।

धनगढी उपमहानगपालिका महिला विकास शाखामा कार्यरत महिला विकास अधिकृत पंकजा जोशीले बाल विवाह, जातीय छुवाछूत, हानिकारक सामाजिक अभ्यास लैंगिकमैत्री व्यवहार र लैगिक हिंसा निवारणको बारेमा विद्यार्थी संग छलफल गरेकी थिईन् । खुलेर विद्यार्थीले छलफल गरेको देख्दा आफूलाई खुसी लागेको भन्दै विद्यार्थी मार्फत घरपरिवार र समाजमा छिटो सुचना पुग्ने जोशीले बताईन् ।

विद्यार्थी संग मनोसााजिक परामर्शकर्ता धनराज विकले मनका विषयमा छलफल गरेका थिए । मनोसामाजिक समस्या भनेको के हो ? मनोसामाजिक समस्याका कारणहरु, मनोसामाजिक समस्याका लक्षण तथा असरहरु, पीडा व्यक्तगर्ने तरिकाहरु, आत्महत्या रोकथाम र मनोसामाजिक सहयोग सम्बन्धमा छलफल गरेका थिए । पिसविनका शिव सार्कीले लैंगिक रुपान्तरण र गिता पनेरुले ओसीएमसीको बारेमा बताएका थिए । शिक्षक टंकप्रसाद जोशीले कार्यक्रम धेरै राम्रो लागेको भन्दै यस्तो कार्यक्रम शिक्षक अभिभावक र विद्यालय व्यवस्थापन समिति संगपनि गर्नुपर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार