देशभर १७ हजार बढीमा डेंगु संक्रमण, कुन प्रदेशमा कति?

काठमाडौं । देशभरका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । साउन महिनायता मात्र देशभरका ७५ जिल्लामा डेंगुको संक्रमणको छ । ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डेंगु संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ ।

सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा देशभर डेंगुको प्रकोप देखिएको स्वास्थ्य विज्ञहरुको भनाइ रहेको छ ।

हाल सबैभन्दा बढी बाग्मती प्रदेशमा १२ हजार ९७८ जना डेंगु संक्रमित भएका छन् । ४ वर्ष पहिले पनि लामखुट्टे नियन्त्रणमा चुक्दा डेंगुले लामो समयसम्म धेरै प्रभावित भएको स्वास्थ्य विज्ञहरुको भनाइ छ ।

उनीहरुका अनुसार डेंगुले प्रकोप रुप लिनुभन्दा दुई महिना अगाडिदेखि लामखुट्टे नियन्त्रणमा तदारुकता दिइएको भए अहिलेको स्थिति आउने थिएन । अहिले सरकारले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको जनाएको छ । यद्यपि सरकारले दसौँ हजार जना डेंगु संक्रमित हुँदा अभियानलाई अभियानका रुपमा सञ्चालन गरेको छैन ।

सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसबेला जम्मा ६८ जिल्लामा डेंगुका केस पुष्टि भएको थियो । अहिले ४ वर्ष पहिलेको भन्दा अझ बढ्ने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।

२०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ ।

यस्तै मन्त्रालयका अनुसार प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार