काठमाडौँमा असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध, अटेरी गर्नेलाई कारबाही

३०, भाद्र २०७९ काठमाडौं । असोज १ गतेदेखि काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुमपान निषेध गरिएको छ।

बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिवन्ध लगाइसकेको छ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार