आज थारु समुदायको अटवारी पर्व, सुदुरपश्चिमका २ जिल्लामा सार्वजनिक बिदा

१२, भाद्र २०७९ कैलाली । आज सुदुरपश्चिम सरकारले सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले भाद्र १२ गते कैलाली र कंचनपुरना सार्वजनिक विदा दिएको हो ।

यश अघि राजपत्रमा उल्लेख भए अनुसार भाद्र १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनी अटवारी पर्व भाद्र १२ गते परेकोले उक्त दिन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

परापूर्वकालदेखि मनाउँदै आएको अटवारी थारु समुदायको मौलिक पर्व हो । यो पर्व दुई दिनसम्म मनाइने गरेको जनाइएको छ ।

भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।

अर्कोथरि मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ। दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ।

थारु समुदायले यस पर्वमा ‘चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवानहरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ’, ।

अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन्। व्रत बसेका व्रतालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन छ। त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ।

अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन्।

अट्वारी पर्वमा थारु बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका छन्। थारु समुदायले आफ्ना पर्व र परम्परा मौलिक तरिकाले मनाउने गर्छन्। तर पछिल्ला दिनमा संस्कृति मनाउने मौलिक शैलीमा परिवर्तन आउन थालेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार