आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने बताएका छ्न ।

नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहको निर्वाचनमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका हुन।

यश अघिका निर्वाचनमा गरेको गठबन्धनले पार्टीलाई कुनै फाइदा नभई उल्टै पार्टीको पहिचाननै कमजोर भएर गएको बताए ।

देशब्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले आफ्नो तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए। उनले प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको बताए।

जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उनले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताए।

अहिलेको सरकार देश र जनताको पक्षमा काम गर्न नभई भ्रष्टाचारीको पक्षमा काम गर्ने सरकार भएको उनको भनाइ छ। उनले सरकारको गलत कामको विरोध र प्रतिवाद सडक र सदनबाट गर्ने स्पष्ट पारे।

उनले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी गराउने जिकिर गरे। दाहालले पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताए।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार