कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

पहलमानपुर । कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एस.आई. एल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडी नगरपालिकामा आयाेजना गरेकाे स्थानिय परियाेजना सल्लाह समितीकाे बैठकका सहभागीहरुले साे कुरा औंल्याएका हुन् ।

पछिल्लाे समय कठरिया समुदायको भाषा दिनानुदिन अन्य भाषीहरुकाे प्रभावमा परिरहेकाे कारणले साेकाे संरक्षण, सम्बर्द्धनका लागि मातृभाषी स्वयम्, स्थानीय सरकार, भाषा सम्बन्धि काम गर्ने संघ, संस्था र अन्य सराेकारवालहरुकाे सहकार्य र सक्रियता आवश्यक रहेकाे सहभागिहरुले बताए ।

कठरिया समुदायकाे बासाेबास रहेकाे १५ वटा कठरिया गाउँहरुमा कठरिया भाषा पढाई प्रवाह परियाेजना लागु गरिएकाे थियाे । परियाेजना एस.आई.एल.ईन्टरनेशल नेपाल र हिमाली आदिवासी समाज नेपाल काठमाडौंकाे साझेदारीमा भएकाे थियाे । परियाेजना सम्पन्न भएपश्चात् साेमवार स्थानीय परियाेजना सल्लाहकार समितिकाे बैठक आयोजना गरिएकाे थियाे ।

साे बैठकमा बाेल्दै घाेडाघाेडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले हरेक जाती/समुदायकाे पहिलाे पहिचान भनेकाे उनिहरुले बाेल्ने भाषा नै हाे त्यसैले हरेक जाती/समुदायले आफ्नाे भाषा सँगै संस्कृति र संस्कार जाेगाई राख्नुपर्ने बताए । उनले ‘पालिकामा बासाेबास गर्ने सबै समुदायकाे भाषा, कला, संस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन गर्ने जिम्मेवारी हाम्राे हाे । साे भित्र कठरिया समुदायको माैलिकता संरक्षण समेत पर्दछ ।’ कठरिया समुदायले आफ्नाे पहिचान बचाउन पछिल्लो समय सक्रियता बढाईरहेकाे सकारात्मक प्रयास भएकाे समेत नगर प्रमुख रावतले बताए ।

कठरिया भाषा पढाई प्रवाह परियाेजना अन्तरगत जिल्लाकाे काेंटा, तपा, सिसैया, बगुलइहिया, चर्रा, मुनुवा, लक्कड, घुसरी, सुगरखाल, सिमरी, तुल्सिपुर, भुरवा, मुडा गाउँ, पबेरा र लाैसा गरि १५ वटा गाउँमा कठरिया भाषा सरासर पढ्ने, लेख्ने, १ महिने कक्षा संचालन गरिएकाे थियाे । साे कक्षामा कठरिया समुदायकाे उत्साहजनक सहभागीता र सिकाई कृयाकलापहरु औंचित्यपुर्ण देखिएकाे परियाेजनाकाे दातृसंस्था एस.आई.एल. ईन्टरनेशनल नेपालका कन्ट्रि डाईरेक्टर पृथ्वी चाैधरीले बताए । उनले सधैंभरि बाहिरी संघ, संस्थाले साथ, सहयाेग र सहकार्य गर्न नसक्ने भएकाले आफ्नाे लागि आफै समेत सचेत भई कार्यहरु गर्नुपर्ने कठरिया समुदायलाई सुझाए । साथै कन्ट्रि डाईरेक्टर चाैधरीले दातृ संस्थाकाे परिचय, उदेश्य, हाल सम्म गरिएकाे कृयाकलाप तथा भाषा संरक्षण र विकासका आगामी याेजनाहरुकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे ।

उक्त परियाेजना र १ महिने कठरिया भाषा सरासर पढ्ने, लेख्ने कक्षाकाे प्रगति बिवरण साझेदार संस्था हिमाली आदिवासी समाजकि कार्यक्रम संयाेजक टेसि डेमा भाेटेले प्रस्तुत गरेकाे बैठकमा घाेडाघाेडी नगरपालिकाका शिक्षा साखा प्रमुख उमेशराज रेग्मी, कैलारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तारामल कठरिया, कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरिया लगायत स्थानीय जनप्रतिनिधि, कठरिया समाज नेपालका पदाधिकारी, कठरिया सरासर पढ्ने, लेख्ने किताबका लेखक, शिक्षक, कक्षाका सहभागि, गाउँका बडघर, भल्मन्सा र पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे । स्थानीय परियाेजना सल्लाहकारहरुकाे बैठककाे सहजिकरण हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टिआर कठरियाले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार