त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला: फाइनल खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा आज मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ ।

खेल आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे बाट शुरु हुनेछ ।

लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए ।

लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो ।

अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो ।

आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

नेदरल्यान्ड्स र नामिबियाबिच खेलिएको लिग चरणको अन्तिम खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । अन्तिम खेल वर्षाले बिथोलिएपछि नामिबिया उपाधि होडबाट बाहिरिएको थियो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार