
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन तथा अभिभावक भेला सम्पन्न भएको छ ।

बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर शाही रहेका थिए ।
यस्तै बिशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट रहेकी थिइन ।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जगतबहादुर शाहीले विद्यालयमा कुनै पनि प्रकारको राजनीतिक क्रियाकलाप नगर्न आग्रह गरे। उनले भने – “जुन संघसंस्था राजनीति खेलवाड हुन्छ त्यो संस्था दीर्घकालीन हुँदैन ।
त्यसमा पनि शिक्षण संघसंस्था रहेको क्षेत्रमात झनै राजनीति क्रियाकलाप गर्नु उचित हुँदैन त्यसले विद्यार्थीको मनसायमा नकारात्मक असर हुने हुँदा जब सम्म आफू वडाको एक जिम्मेवारी पदमा हुन्छु तब सम्म कुनै पनि शिक्षण संस्थामा राजनीति चलखेल हुन दिने छैन । तसर्थ यस विद्यालयको व्यवस्थापन समिति गठन गर्ने कार्यमा कुनै पनि राजनीतिक चलखेल नगरी निष्पक्ष रुपमा विद्यालयको हितमा हुने गरि व्यवस्थापन समिति गठन गर्नुहोला” ।
सोही क्रमश अध्यक्ष शाहीले बिद्यालयलाई आवश्यक पर्ने जुनसुकै कार्यमा वडा कार्यालय तत्पर रहेको बताउदै आफुले वडा तथा आफ्नो व्यक्तिगत तर्फबाट बिधालयको हितको लागि पालिका, प्रदेश सरकार तथा केन्द्र सरकार सँग सहयोगको लागि आवश्यक पर्ने पहल कदम चाल्ने छु ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरुमा निस्वार्थ भावनाका साथ आफ्नो उम्मेदवारी दिन आग्रह गर्दै बर्दगोरिया गाउँपालिकाको शिक्षा ऐन सम्बन्धी सम्पुर्ण अभिभावक हरुलाई जानकारी गराएकी थिइन ।
त्यस्तै कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बिकले आफ्नो समितीले आफ्नो कार्यकालमा गरेका सम्पुर्ण विवरण सार्वजनिक गर्दै पछिल्लो यो आधुनिक तथा प्राविधिक युगको सहि सदुपयोग गर्न समेत सम्पूर्ण नागरिकहरुमा आग्रह गरे । अहिले यो आधुनिक तथा प्राविधिक युग आडमा केही सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्ति तथा संस्थाको अहितमा हुने काम गर्ने गरेको हुँदा यस्ता कार्य नगर्न समेत अनुरोध गरे । यदि कुनै व्यक्तिले संस्थाको आडमा बदमासी गरेको भए सोही अनुसार कानुनी कार्वाही गर्नुस, नभए व्यक्तिगत रिसिबीमा संस्थाको नाम नजोडी दिनु होला ।
यस्तै आजनै उक्त अभिभावक भेला बाट ४ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा २ जना महिला तर्फ अन्जु चौधरी र मञ्जु चौधरी रहेका छन भने पुरुष तर्फ जगत बहादुर साउद र बिरिजलाल चौधरी रहेका छन । अध्यक्ष लगाएत केही सदस्यहरु भने गाउँपालिकाको शिक्षा शिक्षा ऐन अनुसार चयन गरिने बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले जानकारी दिइन ।