पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

२१ असार, बाँके। पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुर बाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय  रहेका इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ ।

उनीहरुलाई प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित पक्राउ गरेको हो ।

उक्त छाला र हड्डी वयस्क पोथी बाघको रहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

यस्तै छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

पक्राउ परेका चारै जनाबारे थप अनुसन्धन डिभिजन वन कार्यालय गरिरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार