नेपालीका कारण एक भारतीयको परिवार बिचल्लीमा; सूचना दिनेलाई ८० हजारको अफर

धनगढी । नेपालीका कारण एक भारतीय नागरिकको परिवार बिचल्लीमा परेको छ । नेपालीले श्रीमती सहित धनमाल गायब पारेपछि भारतको हैदराबादका कुल्दीप सिंहको परिवार अहिले विक्षिप्त अवस्थामा छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ८ का चेतन सिंहले हैदराबादका भारतीय नागरिक कुल्दीप सिंहकी ३८ बर्सिया श्रीमती कविता काबिया सहित उनको धनमाल लिएर बेपत्ता भएका छन् । चेतनले आमाको अश्लील म्यासेज तथा भिडियोहरू पठाएपछि उनका २२ वर्षीय छोराले आत्महत्या गरेका छन् । उनका अर्का छोराले आत्महत्याको प्रयास गरेका छन् । उनकी सात बर्सिया छोरी आमाको वियोगमा प्रताडित भएकी छन् भने कुल्दीप अस्पताल भर्ना भएका छन् ।

के भएको थियो घटना

कुल्दीप सिंहको हैदराबादमा मिठाई पसल छ । उनले पसल अगाडी ठेला पनि लगाएका थिए । जहाँ चाइनिज फास्ट फुड बन्थ्यो । उनले ठेला भाडामा दिने निधो गरी सूचना सार्वजनिक गरे । सोही अनुसार चेतन सिंहले मासिक २१ हजार भाडा तिर्ने गरी कार्तिक देखी ठेला सञ्चालन गरेका थिए ।

ठेला मालिक कुल्दीप सिंहका अनुसार चेतनले व्यवसाय राम्रो नभएको भन्दै मासिक भाडा तिर्दैन थिए । चेतनले करिब ३ महिना कुल्दीपको ठेला चलाए । यही बिचमा कुल्दीप काम विशेषले राजस्थान गए । पीडित कुल्दीपका अनुसार यही मौका छोपेर चेतनले आफ्नी श्रीमती, २ थान ल्यापटप, करिब १८ लाख नगद भारतीय रुपैयाँ र ६० तोला सुन सहित बेपत्ता भए । त्यसको केही दिन पछि बैङ्लोरबाट मलाई श्रीमतीको फोन आएको थियो ।

कुल्दीपले भने,… “सायद आफूले काम गर्ने कुनै घरबाट गरेकी थिइन । मलाई चेतनले ब्ल्याक मेल गर्दै छ । म आफै आएको होइन चेतनले अश्लील भिडियो सामाजिक सञ्जालमा हाल्दिन्छु भन्दै दबाब दियो र अहिले पनि धम्की दिइरहेको छ । मलाई लगेर जानुस् भन्दै थिइन ।” त्यस पछि कुल्दीप लामो यात्रा गरेर बैङ्लोर पुगे तर त्यहाँ फेला पारेनन् । कसैले आफू आउने सुइँको दिएकाले भागेको हुन सक्ने उनको भनाई छ । त्यस यता हाल सम्म कुल्दीपको श्रीमती तथा चेतन सम्पर्कमा आएका छैनन् ।

म्यासेजमा चेतनको धम्की

केही महिना अघि सम्म चेतनले कुल्दीप तथा उनको छोरालाई फेसबुक म्यासेजबाट धम्की दिने गरेको पाइएको छ । “तेरो बुढी मेरो रखेल हो । मेरा लागी त उ सुनको अण्डा दिने कुखुरा हो । चेतनले फेसबुक म्यासेजमा लेखेका छन् । त मेरो केही उखाड्न सक्दैनस् । म उ सँग मस्ती गरिरहेको छु । पिण्टुलाई मस्ती गरेको भिडियो पनि पठाएको थिए । मेरो के बिगा¥यो उल्टा आफै म¥यो । अब त पनि मर ।” उनले अघि लेखेका छन् । “बाउको छोरा होस भने यसलाई लगेर जा । मेरो बाल हल्लीनेवाला छैन । तिमीहरू सबै मरे पनि मलाई कसैले केही गर्न सक्दैन ।” उनले म्यासेजमा अधिकांश अश्लील, असभ्य र फोहर शब्द प्रयोग गर्दै परिवारलाई थप पिडा मात्र दिएका छैनन् आत्महत्या दुरुत्साहन समेत गरिरहेका छन् । यद्धपी हाल उनले कुल्दीप परिवारलाई म्यासेज गर्न छाडेर आफै बेपत्ता छन् ।

के भन्छ प्रहरी

भारतीय परिवारलाई अमानवीय हर्कत गरिरहेका चेतन सिंहको अवस्थाबारे प्रहरी पनि बेखवर छ । स्थायी घर दैलेख भएकाले पीडितले दैलेख प्रहरीलाई उनको खोजी गरिदिन मौखिक अनुरोध गरेका छन् । तर नियमानुसारको उजुरी भने आएको छैन ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले भने,… “हामीले जिल्ला भित्र व्यवहारिक रूपमा खोजी कार्य गरिरहेका छौ । हामी बारम्बार उनको घर सम्म पुगिरहेका छौ तर फेला पार्न सकिएको छैन । अन्तर जिल्लाहरूमा पनि खोजी गर्न सकेका छैनौ । घटना भारतमा घटेकाले इन्टरपोल अथवा एम्बेसी मार्फत लिखित उजुरी आउनु पर्ने थियो । त्यसो गरे देशभर प्रहरीको सक्रियता बढ्ने थियो ।” केही दिन बैङ्लोर तथा मुम्बईमा बसेका चेतन हाल नेपालमै लुकेर बसेको हुन सक्ने पीडितको दाबी छ ।

सूचना दिनेलाई ८० हजार अफर

नेपाली नागरिक चेतन सिंह तथा भारतीय नागरिक कविता काबिया (कुल्दीपकी श्रीमती) का बारेमा सूचना दिनेलाई ८० हजार नेपाली इनाम दिने पीडितले घोषणा गरेका छन् । नेपाल तथा भारतका कुनै पनि ठाउँमा उनीहरूलाई देखेमा नजिकको प्रहरी कार्यालय तथा कुल्दीप सिंहको सम्पर्क नम्बर ००९१–९१४५९०१३०९ मा खबर गर्न उनले आग्रह समेत गरेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार