बजेट प्रस्तुत गर्ने जिम्मेवारी भएका उपाध्यक्ष नै सभामा अनुपस्थित; प्रवक्ताले ल्याए वजेट

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने सबैभन्दा महत्त्वपूर्ण गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी अनुपस्थित भएपछि उनको राजनीतिक प्राथमिकता, नैतिक जिम्मेवारी र जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

स्थानीय सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित हुने गाउँ सभालाई गाउँपालिकाको संसद् मानिन्छ। यही सभाबाट आगामी वर्षका विकास योजना, सामाजिक कार्यक्रम, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका प्राथमिकता तय गरिन्छन्। तर यति महत्त्वपूर्ण सभामा उपस्थित हुनुपर्ने उपाध्यक्ष गिरी भने गाउँ सभा छाडेर आफ्नो दलको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपाध्यक्षलाई बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियामा महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। उपाध्यक्ष बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक समेत हुने व्यवस्था छ। यति मात्र होइन, सामान्य अवस्थामा गाउँ सभामा बजेट प्रस्तुत गर्ने प्राथमिक जिम्मेवारी पनि उपाध्यक्षकै हुन्छ। तर यस पटक उपाध्यक्ष अनुपस्थित भएपछि बजेट प्रस्तुतीकरणको जिम्मेवारी गाउँ सरकारका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतमलाई दिइएको थियो ।

स्थानीयवासी र सरोकारवालाहरूले जनताले निर्वाचित गरेको जनप्रतिनिधिको पहिलो दायित्व गाउँपालिका र नागरिकप्रति हुने कि दलप्रति हुने भन्ने प्रश्न उठाउन थालेका छन्। स्थानीय तहको सबैभन्दा महत्त्वपूर्ण निर्णय प्रक्रियाको दिन उपाध्यक्ष स्वयं अनुपस्थित रहनुले जनप्रतिनिधिको जबाफदेहिता र जिम्मेवारी बोधमाथि प्रश्न खडा गरेको आम नागरिकको बुझाइ छ। राजनीतिक गतिविधिमा सहभागी हुनु जनप्रतिनिधिको अधिकार भए पनि गाउँपालिकाको वार्षिक बजेट तथा नीति निर्माण प्रक्रियाभन्दा दलगत कार्यक्रमलाई प्राथमिकता दिनुलाई जनप्रतिनिधिको गैर जिम्मेवार शैलीका रूपमा हेरिएको छ ।

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका उपाध्यक्ष गिरी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्। दल परिवर्तनपछि उनी स्थानीय सरकारको कामभन्दा पार्टी गतिविधिमा बढी केन्द्रित भएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ । यही पृष्ठभूमिमा बजेट सभामा अनुपस्थित भएर पार्टी महाधिवेशनमा सहभागी भएको घटनाले थप प्रश्न जन्माएको छ। जनताको मतबाट प्राप्त जिम्मेवारीभन्दा दलगत स्वार्थ र राजनीतिक भविष्यलाई प्राथमिकता दिएको भन्दै आलोचना हुन थालेको छ।

तर यता गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले भने पार्टी महाधिवेशन भएकै कारण बजेट सभामा उपस्थित हुन नसकेको बताएका छन् । “म अहिले पार्टीको महाधिवेशनमा चितवन छु । बजेट, प्रक्रिया वा कसैप्रति असहमति भएर, चित्त दुखाइ भएर सभामा उपस्थित नभएको होइन । पार्टी महाधिवेशनका कारण म बजेट सभामा उपस्थित हुन नसक्ने कुरा कार्यपालिका तथा हाकिम साबलाई पूर्व जानकारी गराएको छु । म गैर जिम्मेवार बनेको होइन, पार्टी महाधिवेशनको संयोग परेकाले त्यसो भएको हो । म मेरा नागरिक प्रति पूर्ण जिम्मेवार बनेर काम गरिरहेको छु । यो संयोगलाई कसैले पनि गलत अर्थ नलगाउन आग्रह छ ।” उनले भने ।

उपाध्यक्ष अनुपस्थित भए पनि कार्यपालिकाको निर्णयअनुसार अर्को सदस्यले बजेट प्रस्तुत गर्न सक्ने कानुनी व्यवस्था छ। त्यसैले बजेट प्रस्तुति प्रक्रियाको वैधानिकता अलग विषय हो। तर यहाँ मुख्य प्रश्न कानुनीभन्दा बढी नैतिकताको छ। जनताले गाउँपालिकाको नेतृत्व गर्न निर्वाचित गरेको व्यक्ति गाउँपालिकाकै सबैभन्दा महत्त्वपूर्ण वार्षिक सभामा अनुपस्थित हुनु गैर जिम्मेवार व्यवहार भएको धेरैको ठहर छ । बजेट निर्माण र प्रस्तुतीकरणको प्रमुख भूमिकामा रहेका जनप्रतिनिधिले त्यो जिम्मेवारीबाट अलग बस्न नमिल्ने धेरैको बुझाइ छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार