नमुना ग्रामीण विद्युत सहकारीको २०औँ साधारण सभा तथा भवन उद्घाटन सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभा तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। अब सहकारीले आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ। सहकारीले आफ्नै लगानीमा २४ लाख रुपैयाँ खर्च गरेर भवन निर्माण कार्य सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष भिम सिंह जाब्लीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी जिल्ला ग्रामीण सहकारी संस्थाका अध्यक्ष कृष्ण खत्री विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले नमुना ग्रामीण विद्युत सहकारीले वडा नम्बर ४ को नौनिया क्षेत्रमा विद्युत सेवा विस्तार तथा गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सहकारी संस्थाको भूमिका अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा सेवामा थप सुधार गर्दै उपभोक्तामैत्री कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

संस्थाका अध्यक्ष भिम सिंह जाब्लीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०८१/०८२ को ५० लाख ४९ हजार रुपैयाँ बराबरको आय–व्यय तथा आर्थिक वर्ष २०८३ बैशाख मसान्तसम्मको ४९ लाख रुपैयाँ बराबरको विवरण संस्थाका प्रबन्धक डिल बहादुर साउदले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष महाबिर साउद, कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक उदय सिंह बि.सि., सिर्जनशील ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष दिल बहादुर सापकोटा, पूर्व कार्यपालिका सदस्य टेक बहादुर मिजार लगायतले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए।

यसै अवसरमा संस्थालाई सहयोग गर्ने पूर्व अध्यक्ष, लेखा समिति तथा नियमित विद्युत महसुल बुझाउने उपभोक्ताहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव वीर बहादुर साउदले गर्नुभएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार