बर्दगोरिया कलेजको भवनको मुख्यमन्त्री शाहद्धारा शिलान्यास

कैलाली — बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ। एक औपचारिक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त भवनको शिलान्यास गर्नुभएको हो।

 

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको कुल लागत करिब १० करोड रुपैयाँ रहने जनाइएको छ। भवन निर्माण सम्पन्न भएपछि कलेजको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आफूले पाएको सेवाको जिम्मेवारीलाई सधैं इमानदारी र निष्ठाका साथ पूरा गर्ने बताउनुभयो। साथै, उहाँले यो क्षेत्र मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशमा शिक्षाको विकास, गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा स्वस्थ र सक्षम जनशक्ति उत्पादन गर्ने कार्यमा प्रदेश सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभयो ।

 

त्यसैगरी, कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री मेघराज खड्काले गुणस्तरीय शिक्षा र सक्षम जनशक्ति उत्पादनका लागि भौतिक पूर्वाधार, विशेषगरी भवनको आवश्यकता महत्वपूर्ण रहने औँल्याउनुभयो। उहाँले भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रमै छोटो अवधिमा कलेजलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

 

यसैगरी कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्रालयका सचिव हेमराज रेग्मीले  सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासका लागि स्वस्थ र सक्षम नागरिकको पहिचान आवश्यक रहेको उल्लेख गर्दै “प्रदेशको समृद्धिका लागि स्वस्थ र सक्षम नागरिक” भन्ने नारा प्रदेशका प्रमुख नारामध्ये एक रहेको बताउनुभयो ।

यस्तै, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले यहाँका विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै पहिलो पटक क्याम्पस स्थापना गर्ने लक्ष्यका साथ आफूहरू अघि बढेर क्याम्पस ल्याउन सफल भएको बताउनु भयो ।

कार्यक्रममा पन्चदेवल बिनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, वड नम्बर १ का अध्यक्ष मिथुन गौतम , २ का अध्यक्ष गोबिन्द बि क, कार्यपालिका सदस्य सरस्वती बि क, मिरा देवि आले, स्थानीय,बिद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कलेज संचालक समिति अध्यक्ष भिम बहादुर कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कलेज प्रमुख चन्द्रा खरेलले गर्नु भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार