ट्रेड युनियन अधिकार कटौती भए आन्दोलनमा आउने निजामती कर्मचारीको चेतावनी

काठमाडौँ । संघीय निजामती विधेयकमा प्रस्तावित प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले अधिकार कटौती नगर्न सरकारलाई आगह गरेका छन् ।

 

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, नेपाल मधेसी निजामती कर्मचारी मञ्च तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै संघीय निजामती सेवा विधेयकबाट ट्रेड युनियन अधिकार कटौती गर्ने प्रावधान तत्काल खारेज गर्न माग गरेका हुन् ।

 

 

साथै, नेपालको संविधान तथा अन्तर्राष्ट्रिय श्रम महासन्धिअनुसार सबै कर्मचारीले स्वतन्त्र रूपमा संगठित हुन पाउने पूर्ण ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

 

ट्रेड युनियनहरूले सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको हकहित संरक्षण, सहभागिता तथा सामूहिक सौदाबाजीको अधिकारलाई कानुनी रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार यस्ता अधिकारले प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछ ।

 

त्यसैगरी, सरोकारवाला ट्रेड युनियनहरूसँग पर्याप्त परामर्श र सहमति बिना कुनै पनि कानुनी व्यवस्था अगाडि नबढाउन पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी न्यौपाने दाहाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम कुमार कटुवाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष याम बहादुर खत्री, नेपाल मधेसी निजामती कर्मचारी मञ्चका कार्यवाहक अध्यक्ष विजयकुमार यादव र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका अध्यक्ष सीता गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा ट्रेड युनियनहरूले आफ्ना मागप्रति सरकार गम्भीर नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार