प्रभावकारी बन्दै दिगो विकास समाजका सामुदायिक क्रियाकलाप

बौनिया । कैलालीको भजनीमा रहेको दिगो विकास समाजले समुदायमा लागु गरेका आफ्ना वार्षिक कार्यक्रम तथा परियोजनाहरूको अनुगमन गरेको छ । जिल्लाको टिकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले यी तिन वटै पालिकामा सञ्चालित विभिन्न कार्यक्रमहरूको अनुगमन गरेको हो ।

सन २०२६ को पूर्व सन्ध्यामा संस्थाले सन २०२५ मा गरेका कार्यक्रम, उपलब्धि, समस्या, चुनौती, आवश्यकता लगायतका विषयमा जानकारी लिन अनुगमन टोली समुदायमा स्तरमा पुगेको दिगो विकास समाजका परियोजना सहायक वासुदेव चौधरीले बताए ।

“सन २०२५ मा गरिएका क्रियाकलापहरू के कस्ता छन् भनेर सरोकारवाला स्थानीय पालिका हुन्छ र त्यस सँग पनि सरोकार राख्ने कृषि विकास शाखा, महिला विकास शाखा र विपत् शाखाका प्रतिनिधिहरूलाई समेटेर समुदायमा पुगेका हौ । हामीले गरेका क्रियाकलापहरू पालिकालाई कस्तो लागिरहेको छ, थप सल्लाह सुझावहरू केही छन् की भनेर उहाँहरूलाई पनि जिम्मेवार बनाउने हाम्रो प्रयास हो ।” उनले भने ।

अनुगमन टोलीले टिकापुर नगरपालिका वडा नम्बर १ स्थित सतघरुवा टोलमा दिगो विकासको सहयोगमा महिलाहरूले सामूहिक रूपमा गरिरहेका तरकारी खेती र विद्यार्थीहरूले अनुसन्धान गरिरहेका आलु र टमाटर खेतीको समेत अनुगमन गरिएको छ ।

यस्तै जानकी गाउँपालिकाको वडा नम्बर ४ स्थित कञ्चनपुरमा अनुसन्धान भइरहेको झोल मल, गँड्यौला पालन तथा तरकारी खेतीको समेत अनुगमन गरिएको छ भने बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को कोइलीभुरुवामा मखमली पहिला कृषक समूहले गरिरहेको सामूहिक तरकारी खेतीको अनुगमन गरिएको छ ।

दिगो विकास समाजले समुदाय स्तरमा गरिरहेका कार्यक्रम तथा परियोजनाहरू निकै प्रभावकारी देखिएको अनुगमन टोलीले बताएको छ । अनुगमनका क्रममा समुदायमा परम्परागत तथा अर्ग्यानिक खेती प्रणाली बढ्दो अवस्थामा रहेको पाइएको टिकापुर नगरपालिकाकी कृषि प्राविधिक रविना चौधरीको भनाई छ ।

उनले अघि थपिन,… “कृषकहरूले विषादी न्यूनीकरण गर्दै गएको अनि रासायनिक मलको प्रयोगमा कमी आएको अनुभूति गरे मैले । यती मात्र होइन सानो ठाउँमा पनि कति राम्रो सँग खेती गरेको, कृषक मात्र नभई व्यावसायिक कृषक बन्ने तर्फ अग्रसर भएको चाहिँ मैले समुदायमा पाए ।”

अनुगमन टोलीका सदस्य जानकी गाउँपालिकाका कृषि विकास अधिकृत टोप बहादुर विष्टलाई पनि दिगो विकास समाजको क्रियाकलापहरू प्रभावकारी भएको अनुभूति छ । विशेष गरी कृषिका क्षेत्रमा अनुसन्धानका लागि विद्यार्थीहरूलाई प्रेरित गर्ने र त्यसमा कृषकहरूलाई पनि सहभागी गराउने काम चाहिँ उनलाई निकै राम्रो लागेको छ ।

उनले अनुसन्धानबाट प्राप्त नतिजा दिगो विकास समाज, आफू अध्ययनरत कलेज सँगै पालिकालाई पनि उपलब्ध गराउनु पर्ने बताए । “केही गरिरहेका र गर्न खोज्ने कृषकहरूलाई दिगो विकास समाजको सहयोग निकै राम्रो छ । उनीहरूले फिल्ड लेबलमा जुन काम गरिरहेका छन् त्यसमा हामीहरूलाई पनि बोलाएर सुझाव सल्लाह लिनु हुन्छ हामी पनि सधैँ साथ दिएकै छौ ।” उनले भने ।

दिगो विकास समाजले गर्ने क्रियाकलापहरूले समुदायमा महिलाहरू सशक्त बन्दै गएको अनुगमन टोलीमा सहभागी बर्दगोरिया गाउँपालिकाका महिला विकास शाखा प्रमुख पानमती रानाले बताइन । “अहिले महिलाहरू आर्थिक रूपमा पनि सशक्त बन्दै छन् । दिगो विकासको सहयोगमा तरकारी खेती, सिलाइकटाई, विभिन्न पसलहरू सञ्चालन गरेका छन् । महिला आर्थिक रूपमा सशक्त बन्नु भनेको पहुँच र अवसर बढ्नु पनि त हो नि ।” उनले भनिन ।

दिगो विकास समाजले सन २०२५ का कार्यक्रमहरू सम्पन्न गरी सन २०२६ मा के कस्ता कार्यक्रमहरू आवश्यक हुन भन्नेबारे तयारी थालेको छ । समुदायमा विभिन्न रूपमा देखिएका परिवर्तन स्थानीय सरकारको हातेमालोले मात्रै सम्भव भएको बताउँदै दिगो विकास समाजका अध्यक्ष रामबहादुर सुनारले आगामी वर्षका लागि पनि यस्तै साथ, सहकार्य र हातेमालोको अपेक्षा रहेको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार